ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थीको बस्ने डेरा भत्किएपछि पढाइमा समस्या

Gyan Khabar

ज्ञानखबर

१९ मङ्सिर २०८०, मङ्गलबार
196 पटक हेरिएको
विद्यार्थीको बस्ने डेरा भत्किएपछि पढाइमा समस्या

एक महिने दशैंतिहार बिदा भएपछि नलगाड नगरपालिका ५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताब कपी, पाेसाक सबै छोडेर घर जानु भएको थियो । भेरी नगरपालिका १ रिम्ना स्थित भेरीत्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत कमला विद्यालय नजिकै तुल्सी नेपालीको घरमा डेरा गरेर बस्ने गर्नु भएको थियो । तर बिदा नसकिँदै गत कात्तिक १७ गते राती आएको भूकम्पले उनको घरमा मात्र क्षति गरेन ,विद्यालय र डेरा गरेको घर पनि भत्कियो ।

बस्ने घर भत्किएपछि उहाँको परिवार अहिले त्रिपालमा बस्दै आएको छ । आफू  बस्ने डेरा भत्किएपछि घरभेटी तुलसा घाइते हुनुहुन्छ । घर भत्किएर उहाँका सबै किताब कपी, विद्यालय पोसाक सबै त्यही पुरिए ।

सोमवार देखि विद्यालय खुले पनि उनी कहाँ बस्ने , किताब कपी के गर्ने , पोसाक के लगाउने कमला समस्यामा रहनु भएको छ ।  विद्यालय भवन भत्किएपछि खुल्ला चौरमै भए पनि पढाई हुन थालेको छ रे उनले भनिन्–‘म कहाँ गएर बसूँ, बस्ने घर(डेरा) नै भत्कियो ।

भेरी नगरपालिका १ जुरेलीकी निर्मला घर्ती पनि सोही विद्यालयमा १० कक्षामा अध्ययनरत हुनुहुन्छ । घरबाट विद्यालय टाढा भएपछि निर्मला पनि रिम्नामै कोठा भाडामा लिएर भाइ सँग बस्ने गर्नु भएको थियो तर भूकम्पले उनी बस्ने घर चर्किएर त्रिपालमा निर्मलाको परिवार सरेको छ भने डेरा लिएको घर पुरै भत्किएर विद्यालय पोसाक, किताब, कपी, कलम, नोट बुक सबै पुरियो ।

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा चार सय ६५ जना विद्यार्थी अध्ययनरत छन् । तीमध्ये तीन जना भूकम्पमा परेर ज्यान गुमाउन पर्‍यो । घाइते १२ जना घाइते अस्पतालमा उपचार पछि घर फर्किएका छन् ।

आइतबार देखि विद्यालय खोले पनि थोरै मात्र विद्यार्थी विद्यालय आउन थालेका छन् । प्रधानाध्यापक प्रेमबहादुर पुनले  सबै कक्षाका गरी सोमवार ६० जना विद्यार्थी मात्र पठनपाठनका लागि  आएका बताउनु भयो । विद्यालय आएका हरूलाई सामान्य सरसफाइ र मनोपरामर्श दिएर पठाएको प्रअ. पुनले जानकारी दिनुभयो । रुकुम पश्चिम बाट पनि आउँथे भूकम्पले धेरै विद्यार्थीका पोसाक र किताब पुरिएका छन् ।

अव कसरी उनीहरूको समस्या समाधान गर्ने होला । हामी आफै त्रिपालमा बसेका छौ । डेरावाला विद्यार्थीको बिजोग हुने भो ।’ जाजरकोटमा मात्र करिब दुई हजार विद्यार्थी कोठा भाडामा बस्ने गरेको अनुमान छ ।

नलगाड नगरपालिका ११ कि रेखा सिंह सदरमुकाम खलङ्गा स्थित त्रिभुवन माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययनरत हुनु हुन्छ । सदरमुकाम खलङ्गा स्थित उहाँ बस्ने घर भूकम्पले भत्किएपछि  किताब कापी सबै पुरिएका छन् । मैले लगाउने दुई जोर ड्रेस पनि कोठामै थिए ,  सबै पुरिदिएछ सोमवार मात्र सदरमुकाम खलङ्गा आएकी उहाँ दिनभर कोठा खोजे पनि पाउन नसकेको गुनासो गर्नु भयो ।   –सहदेव बस्नेत