वागीश्वरी मावि, वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ म्यानाजमेन्ट संयुक्त आयोजनामा शनिवार धुलिखेल लज एण्ड रिसोर्टमा वागीश्वरी पारिवारको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको राजनीतिक प्रतिबद्धताकै कारण भक्तपुर शैक्षिक गन्तव्य बन्न सफल भएको बताए । उनले बैदेशिक रोजगारीका लागि भन्दा देश र जनताको निस्वार्थ सेवा गर्ने योग्य र सक्षम नागरिक तयार गर्न शिक्षक लागिपर्नुपर्ने बताए । शिक्षकको कहिल्यै कोर्ष पूरा नहुुने तर्क राख्दै उनले हरेक कक्षाकोठामा शैक्षिक सामग्री लिएर मात्र छिर्नुपर्ने बताए । हरेक शिक्षकले नयाँ पुस्तालाई राजनीतिक चेतना दिनुपर्ने तर्क राख्दै उनले समाज र देशका लागि क्षमतावान तयार गरी अनुसन्धानात्मक कार्यमा तिव्रता दिनुपर्ने स्पष्ट पारे ।
विशेष अतिथि एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले देशमा मौलिक परिवर्तनका लागि समाजवाद हुँदै साम्यवादसम्म पुग्ने दूरदर्शिता र अठोट नेमकिपासँग रहेको स्पष्ट पारे ।
कार्यक्रमका सभापति तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संख्यात्मक रुपमा पार्टी सानो भएपनि विचार र सिद्धान्तमा आफ्नो अडानलाई कायम गर्न सफल नेपाल मजदुर किसान पार्टीको मार्गलाई अवलम्बन गरिरहेकै कारण वागीश्वरी देशकै उत्कृष्ठ सामुदायिक विद्यालय र कलेज बन्न सफल भएको स्पष्ट पारे । उनले कलेजमा क्यूएए प्रमाणपत्र प्राप्त गर्न शिक्षक कर्मचारी लागिरहेको स्पष्ट पार्दै यदि क्यूएए प्राप्त भए भक्तपुरमै पहिलो कलेज वागीश्वरी बन्ने बताए ।

उपप्रमुख रजनी जोशीले शिक्षा र स्वास्थ्यसँगै जन्मदेखि मृत्युसम्मका सम्पूर्ण संस्कारयुक्त समाजवादी व्यवस्थाका कार्यमा घोषणापत्र बमोजिम भक्तपुर नगरपालिकाले कार्य गरिरहेको बताए । शिक्षा र स्वास्थ्यमा नगरपालिकाले गरेका गतिविधिबारे बताउँदै अन्यका लागि वागीश्वरी मोडल उत्कृष्ठ मोडलसावित भैरहेको उनको तर्क छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं ९ वडाअध्यक्ष रविन्द्र ज्याख्वले योग्य, देश र जनताप्रति समर्पित नागरिक तयार गर्न नेमकिपाको दिशानिर्देशले काम गरेकै कारण वागीश्वरी अगाडि बढेको स्पष्ट पार्दै उनले वागीश्वरीको शैक्षिक स्तरलाई उकास्न स्थानीय अग्रजको पनि महत्वपूर्ण योगदान रहेकोमा सम्मान व्यक्त गरे ।
प्रमुख अतिथिबाट वागीश्वरी कलेजको जर्नल, भोलुम ३ को विमोचन भएको उक्त कार्यक्रममा वागीश्वरी माविका प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले धन्यवाद व्यक्त गर्दै देश समाजका लागि विद्यालय, कलेजको शिक्षा अगाडि बढाउन नेमकिपाको मार्ग निर्देशन अतुलनीय रहेको स्पष्ट पारे ।
सहायक प्रधानाध्यापक कृष्ण प्रसाद कर्माचार्यले बोलेको उक्त कार्यक्रममा विद्यालय कलेजका शिक्षक शिक्षिका, कर्मचारी, पूर्व प्रअ, पूर्व शिक्षक शिक्षिका, सहयोगी लगायतका गन्यमान्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमपश्चात विभिन्न खेलकूद प्रतियोगिता, सांगेतिक कार्यक्रमलगायतका क्रियाकलापहरु भएको थियो ।