ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार

Gyan Khabar

ज्ञानखबर

बुध, मंसिर ५, २०८१
463 पटक हेरिएको
भक्तपुर क्यान्सर अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको निःशुल्क क्यान्सर उपचार

सरकारले २०८१ मंसिर १ गतेबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले क्यान्सर भएका बालबालिकालाई आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले समयमै उपचार गरेर उनीहरुको ज्यान बचाउन बाल क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० चैत्र १४ मा विश्व स्वास्थ्य संगठनसँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधी प्राप्तिका लागि सम्झौता गरेको बताउँदै उहाँले सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधी निःशुल्क पाउने बताउनुभयो । उक्त औषधीहरु हाललाई भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालमा उपचार गर्ने बालबालिकामा क्यान्सर देखिएको खण्डमा प्रयोग गरिने उहाँले जानकारी गराउनुभयो ।

मन्त्री पौडेलले बाल क्यान्सर उपचार सेवा निःशुल्क गरेसँगै क्यान्सर उपचारको लागि आउने बिरामीहरुको चाप बढ्न सक्नेतर्फ अस्पताल तदारुकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । बालबालिका देशका भविष्य हुन् र उनीहरुलाई स्वस्थ बनाउन सके मात्र देशको भविष्य उज्ज्वल हुने बताउँदै उहाँले भावी पुस्तालाई स्वस्थ राख्ने उद्देश्यले पनि यो कार्यक्रम सरकारले अगाडि सारेको हो भन्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उहाँले नेपालमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताउनुभयो । नेपालमा मधुमेह, ब्लडप्रेसर र क्यान्सर जस्ता नसर्ने रोगको स्थिति भयावह बन्दै गएको बताउँदै उहाँले नसर्ने रोग लाग्नबाट नागरिकलाई समयमै सचेत पार्न जनचेतनाका कार्यक्रम सरकारले अगाडि ल्याउनुपर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले स्वास्थ्य बीमा बोर्डसँग रु. २० करोडभन्दा बढी सोधभर्ना लिन बाँकी रहेको बताउँदै उहाँले सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । स्वास्थ्य क्षेत्रलाई सेवा भन्दा पनि व्यापारको रुपमा लिइँदा आज स्वास्थ्य सेवा झन् झन् महँगो हुँदै गएको बताउँदै उहाँले स्वास्थ्य उपचारको कारण वर्षेनी ५ लाख मानिसहरु गरिबीको रेखामुनी पुगेको अवस्था छ भन्नुभयो ।

कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश मन्त्री सुरेश श्रेष्ठ र बाल रोग विशेषज्ञ डा. रितु लामिछानेले पनि बोल्नुभएको थियो ।