सरकारले २०८१ मंसिर १ गतेबाट १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गरेको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज एक कार्यक्रमबीच भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क बाल क्यान्सर उपचार सेवाको शुभारम्भ गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले कान्ति बाल अस्पताल (काठमाडौं), भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर) र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल (भरतपुर चितवन) मा बालबालिकाको क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले क्यान्सर भएका बालबालिकालाई आर्थिक अभावका कारण मृत्युवरण गर्न नपरोस् भन्ने हेतुले समयमै उपचार गरेर उनीहरुको ज्यान बचाउन बाल क्यान्सर उपचार सेवा निःशुल्क गर्ने निर्णय गरेको बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८० चैत्र १४ मा विश्व स्वास्थ्य संगठनसँग बालबालिकामा हुने क्यान्सरको उपचारका लागि निःशुल्क औषधी प्राप्तिका लागि सम्झौता गरेको बताउँदै उहाँले सम्झौताअनुसार नेपालले ४ वर्षसम्म ती औषधी निःशुल्क पाउने बताउनुभयो । उक्त औषधीहरु हाललाई भक्तपुर क्यान्सर अस्पताल, बीपी कोइराला क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल र पाटन अस्पतालमा उपचार गर्ने बालबालिकामा क्यान्सर देखिएको खण्डमा प्रयोग गरिने उहाँले जानकारी गराउनुभयो ।
मन्त्री पौडेलले बाल क्यान्सर उपचार सेवा निःशुल्क गरेसँगै क्यान्सर उपचारको लागि आउने बिरामीहरुको चाप बढ्न सक्नेतर्फ अस्पताल तदारुकताका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । बालबालिका देशका भविष्य हुन् र उनीहरुलाई स्वस्थ बनाउन सके मात्र देशको भविष्य उज्ज्वल हुने बताउँदै उहाँले भावी पुस्तालाई स्वस्थ राख्ने उद्देश्यले पनि यो कार्यक्रम सरकारले अगाडि सारेको हो भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समयमा उपचार भए बालबालिकामा हुने क्यान्सर निको हुने बताउँदै उहाँले नेपालमा सर्ने भन्दा नसर्ने रोगको प्रकोप बढ्दै गइरहेको बताउनुभयो । नेपालमा मधुमेह, ब्लडप्रेसर र क्यान्सर जस्ता नसर्ने रोगको स्थिति भयावह बन्दै गएको बताउँदै उहाँले नसर्ने रोग लाग्नबाट नागरिकलाई समयमै सचेत पार्न जनचेतनाका कार्यक्रम सरकारले अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालले स्वास्थ्य बीमा बोर्डसँग रु. २० करोडभन्दा बढी सोधभर्ना लिन बाँकी रहेको बताउँदै उहाँले सरकारी अस्पताललाई स्वास्थ्य उपकरण र आवश्यक जनशक्ति व्यवस्थापन गरी सुविधासम्पन्न बनाउनुपर्नेतर्फ मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभयो । स्वास्थ्य क्षेत्रलाई सेवा भन्दा पनि व्यापारको रुपमा लिइँदा आज स्वास्थ्य सेवा झन् झन् महँगो हुँदै गएको बताउँदै उहाँले स्वास्थ्य उपचारको कारण वर्षेनी ५ लाख मानिसहरु गरिबीको रेखामुनी पुगेको अवस्था छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेश मन्त्री सुरेश श्रेष्ठ र बाल रोग विशेषज्ञ डा. रितु लामिछानेले पनि बोल्नुभएको थियो ।