ताजा अपडेट

ट्रेन्डिङ

जेठाबा र छोरी चन्द्रमाया

Gyan Khabar

अर्जुन कोन्दा

५ मङ्सिर २०८१, बुधबार
361 पटक हेरिएको
जेठाबा र छोरी चन्द्रमाया

रोशी खोला उर्लेर वि.पी. राजमार्ग बगेको समाचारले काठमाण्डौ हल्लिदै गर्दा म भकुण्डोबेसीको बजारमा चिया पिउँदै थिएँ । काम विशेष त केहि थिएन, तर पनि नेपालथोकको कुशेश्वर महादेवको दर्शन गर्ने बहाना जो थियो । चिया खान आउनेहरु खुर्कोट बगेको गाइगुइ गर्दै थिए । उनीहरुको गाइगुइ सुनेपछि इच्छा पूरा नहुने स्पष्ट भयो । पसलको पल्लो कुनाको दराजमाथिको टि.भी.मा सेप्टेम्बर २८ मा आएको अविरल वर्षाले सुनकोशीको बेली ब्रिज बगाएको भिडियो प्रशारण भइरहेको थियो । रामेछाप, ओखलढुङ्गा, दोलखा र सोलुखुम्बु लगायतका जिल्लाहरु तराईबाट अलग भएको ताजा खबर समाचारको प्रमुख आकर्षण थियो । खुर्कोटको पुल बगेसँगै ती जिल्लाका मानिसहरुलाई दसैँ महङ्गो र खल्लो हुने भएछ । तापनि नेपाली सेनाबाट हप्ता दिनमा पुल बन्ने समाचारले केहि राहत दिएको महसुस भयो । त्यसो त देशैभरि बाढी र पहिरोको खबरले सबैतिर त्राहिमाम भएको कुरा चिया खान आउने मानिसहरु चर्चा गर्दै थिए । मैले साथीलाई भनेँ, अब नेपालथोक जान सकिन्न, यहीँबाट फर्कनुपर्ला ।

सेप्टेम्बर २९, २०२४ आइतबार दिउँसोे एघार बजेको हुनुपर्छ, म र साथी सञ्जय भकुण्डोबेँसी बजारको चिया पसलमा बसेर गफ गर्देै थियौँ । कुशेश्वर मन्दिर मात्र बाढीबाट जोगिएको हुँदा यसलाई भगवानको महिमा भन्ने पनि कम थिएनन् , पसलमा । चियाको चुस्की लिदै गर्दा पसलको एक कुनामा एक वृद्ध झोक्राएर बसिरहेका थिए । उनको मुहार मलिन थियो । हातका नसाहरु पनि फुलेर सर्पजस्ता देखिन्थे । निधारका धर्साहरुले उनको ढल्कदो उमेर स्पष्ट बताउँथ्यो । फुलिसकेको कपालमा कालो रंग लगाइएकाले होला, ढल्कदो उमेरमा पनि जवानीपन झल्किरहेको देखिन्थ्यो । शरीर कुप्रो परेपनि उनको हाउभाउ साहु महाजनको भन्दा कम देखिन्नथ्यो । चिटिक्क परेको ढाका टोपी र कालो चस्मामा उनको व्यक्तित्व निखारिएको भान हुन्थ्यो । उनले लगाएको सर्ट, पाइन्ट, इस्टकोट र जुता पनि नयाँ नै देखिन्थे ।तथापी उनको ओठमा हाँसो थिएन । एउटा हातमा टाउको थापेर झोक्राएको देखेर पसलेले जिस्काइहाले ,जेठाबा सञ्चै त हुनु हुन्छ नि, होइन ?

जेठाबाले जवाफ दिएनन् । पसलेले फेरि भने, हिजोसम्म तन्नेरी युवती जिस्काएर हिड्ने जेठाबालाई आज के भएछ? नुन खाएको कुखराजस्तो किन झोक्राएर बस्नुभएको?
जेठाबाको आँखाबाट बलिन्द्र आँशु झर्न थाले । तर कुनै शब्द फुट्दै फुटेन । सञ्जयले थपे, परिवारमा केहि समस्या भएर होला । जेठाबाले आफ्नो निहुरिएको टाउको माथि उठाएर सञ्जयलाई पुलुक्क हेरे ।

टेबलको चिया सेलाइसकेको थियो । हामीले जेठाबालाई चिनेका त थिएनौँ, तापनि कुराकानी चल्दै गयो ।
मैले पनि सोधिहालेँ, बा, त्यस्तो केहि आपत पो आइप-यो कि?
मसिनो स्वरमा जेठाबाले मुख खोले, पाप धुरीबाट करायो । पसलेले थपिहाले, कस्तो पाप, जेठाबा? तपाईजस्तो मान्छेले पाप गर्लाजस्तो त लाग्दैन । छोराछोरी त ठिक छन् नि?
जेठो छोरो अमेरिका गएको पाँच वर्ष भयो । फर्कने कुरै गर्दैन । अनलाइनमा दसैँको टिका थाप्ने कुरा गर्छ । कान्छो अस्टे«लियामा गएको दुई वर्ष भयो । अतोपतो छैन । घरमा बुढी बिरामी छिन् । पानी तताउने पनि कोहि छैनन् । म मर्दा पनि आउने हुन् कि होइनन्? खुर्कोटमा चलाउँदै आएको होटल पनि रोशीले बगाइ हाल्यो । बाढी पहिरोले देशभरि वितण्डा मच्चाएको सबैले देखे, मेरो मनको पहिरो कसले देख्ने? यो बुढेसकालमा म एक्लै के गर्नु ? निन्याउरो मुख बनाएर जेठाबाले भने । साहुसँग चुरोट मागी गोजीमा लाइटर खोज्न थाले । सञ्जयले आफ्नो गोजीको लाइटर जेठाबालाई दिए ।
छोराछोरी फर्कलान् नि, कि उतै घरजम गरिसके? सञ्जयले भने ।

थाहा भएन, जेठाबाले भने, बचेराले गुँड छाडेपछि फर्कदै भन्ने सुनेको छु । अर्को साल गाउँको सम्पति बेच्नको लागि आउनुपर्ला भनेर जेठोले भनेको छ । मलाई पनि उतै बोलाएका छन् । अर्काको देशमा बुढी जान्न भन्छिन् ।
तपाईको बैङ्कमा मनग्गे पैसा छ नि, होइन र ?जेठाबा पनि मजाक गर्नुहुन्छ, पसलेले थपिहाले ।
एक हातले गोजीबाट रुमाल निकालेर आँशु पुछ्दै जेठाबाले भने, छोराहरुलाई बिदेश पठाउँदा सकिहाल्यो नि । जेठाबाले एक सर्को चुरोट तानी धूवाँ आकाशतिर हुत्याए । धुवाँ गोलो गोलो हुँदै पसलबाहिर निस्कियो ।
कठैबरा! हजुरको मङ्गलटारको जग्गा नि । बालकोटमा हजुरको घर छ नि, होइन? पसलेले सोधे ।
हो । तर के गर्नू? गाउँको मान्छे शहरमा रम्न नसक्ने रहेछ । भाडामा लगाएको छु , जेठाबाले भने ।
ए, त्यसो पो! मैले भनेँ, त्यस्तो पाप चैँ के गर्नु भयो नि?
जेठाबा टोलाउन थाले । अनि सुकेको स्वरमा भन्दै गए ।

कुशेश्वर महादेवको कृपाले होला घरमा दुःख भन्ने थाहा थिएन । गाउँमा हाम्रो परिवार जति सम्पन्न त को होला र? रोशीको बगरमा फाँटका फाँट जग्गा, अनि घरमा अन्नको भकारी । हातमा खासै पैसा नभएपनि जमिनदार भन्दा कम थिएनौँ । उमेरले सोह्र वर्ष पुगेपनि एस.एल.सी परीक्षा सकेको थिएन । परीक्षा नसक्दै बुबाले मेरो बिहे गाउँकै केटीसँग गर्दिए । स्वास्नी पनि भर्खर पन्ध्र टिकेकी, मुन्धुमको सुम्निमा जस्ती । नाम चैँ फुलमाया थियो । म मख्ख थिएँ । नाइँ भन्न सकिनँ । समय रमाइलै थियो ।
मैले बीचमै सोधेँ, अनि हजुरको नाम नि?
राजकुमार, पसलेले भनिहाले । जेठाबाले हो मा हो मिलाए । फेरी उनी भन्न थाले ।

नभन्दै अर्को वर्ष फुलमाया दुई जिउकी भइन् । घरमा सबैको छोरो जन्मने आशा थियो । कम उमेरले हो कि उसको शरीर आमा बन्न परिपक्व थिएन । व्यथाले च्याप्दै गर्दा सुत्केरीलाई समयमै स्वास्थ्य चौकी पु-याउनुपर्ने, तर सकिएन । घरमै बुढीको गर्भबाट लक्ष्मीको जन्म भयो । म पनि बुबा भएँ । भित्र सुत्केरी कोठामा गएर छोरीलाई बेस्सरी अँगालो हालेँ । घरमा अझैसम्म सबैजना खुशी नै थिए । बिस्तारै मैले चाल पाएँ, छोरी त रुँदै रोइनन् । कुरेर बसैँ । पाइतला मुसारेँ । ढाडमा बिस्तारै थपथपाएँ । अहँ आवाजै आएन । हातहरु त चल्थे, गोडा भने चलेको महसुस भएन । सुँडेनी आमाले पनि सक्दो गर्नुभयो । तोरीको तेल लगाएर मालिस गरिदिनु भयो । टाउकामा तेल राखिदिनुभयो । नानीले कुनै परिवर्तन देखाएन । नानीको आमा त्यसै त व्यथाले गलेकी, छोरीको स्वास्थ्य देखेर मुर्छित भइन् । घरको हर्षोल्लास धेरै समय टिकेन । छोरीको न्वारन भयो, चन्द्रमाया तामाङ । तर चन्द्रमायाको अनुहार हँसिलो र उसको आमासँग मिलेको थियो ।
मेरो बुबाले गाउँको जान्ने झाँक्री बोलाउनुभयो । फुक्ने र चामलको अक्षताले देवीदेवता मन्साउने काम भयो । रातभरि झाँक्री लगाउँदा पनि केहि सीप लागेन । कसैले कुल देवता रिसाएको भने त कसैले परदोष । झाँक्रीले भने अनुसार सबै गरियो । तर हुँदै भएन । भाग्यको लिखान्त नै त्यस्तो रहेछ भनेर चित बुझाउनु प-यो ।

तर कक्षा १० पढेर पनि स्वास्थ्य चौकी जानुपर्छ भनेर भन्न सकिनँ । म दिनहुँ भगवानसँग प्रार्थना गर्थेँ । अनि छोरी सकुशल जीवन माग्थेँ । समयसँगै छोरीको स्वास्थ्यमा क्रमिक सुधार आयो । तर गोडा चल्दै चलेनन् । अनि रुँदा पनि रोएनन् । आमाले सधैँ स्याहार गर्नु पथ्र्यो ।
मैले बुबालाई भनेँ, बा, छोरीलाई काठमाण्डौँ पो लैजाने कि? काठमाण्डौँमा छोरीको उपचार गर्न पाए रोग पो पत्ता लाग्थ्यो कि?
रुढिवादी बुबाले मान्दै मान्नु भएन । बुबाले भन्नुभयो, हामीले त्यत्रो दुःख कष्ट गरेर तिमीहरुलाई हुर्कायौँ, बिरामी हुँदा धामी झाक्रीले सधैँ ठिक गथ्र्यो । अस्पताल कहिल्यै गएनौँ । नचाहिने कुरा नगर जेठा ।

म घरको जेठो छोरो बुबाको विरुद्ध कसरी उभिन सक्थेँ ? अनेक धामी झाँक्री देखाइयो । कालो भाले, कालो बोका कति बलि दिइयो, दिइयो । भाकलहरु पनि कति गरियो, गरियो, लेखाजोखा छैन । केहि सीप नलागेपछि अन्तमा सबैले हरेस खाए । मैले बुबाको विरुद्ध जान सकिनँ । त्यो नै मेरो महाभुल थियो । अनि नानीले अस्पताल देख्नै पाएन । बुढी जहिल्यै रुन्थिन् । बुबाको मनसँगै मेरो मन पनि ढुङ्गा भएछ । रोशी खोला बगेर समुद्रमा मिसिन्छ होला, म काठमाण्डौँसम्म आउन सकिनँ । पैसा नभएर होइन, रुढिवादमा अल्झेर ।

नानी एक वर्ष पुग्दै गर्दा जेठो छोरोको जन्म भयो । परिवारमा हाँसो फर्कियो । परिवारले नानीलाई दिने समय कम हुन थाल्यो । नानी हाउभाउ गरेर खाना माग्थी । बुझेर खाना दिइन्थ्यो । पछि भगवानको कृपाले एक दुई शब्द बोल्न सक्ने भइन् । शब्दहरु दोहो-याउँथे। म खुशी भएँ । अब त छोरी बिसेक हुनेजस्तो लाग्यो। केहि दिनहरु खुशीले बिते ।

छोरीको उमेर बढ्दै गयो, शरीर पनि बढ्न थाल्यो तर शब्दहरु बढेनन्। दुई शब्दमा बोल्थे । के बोल्थे, उनैलाई थाहा हुन्थेन । पाँच वर्ष पुग्दा पनि कुनै वाक्य उच्चारण गर्न सक्दिनथी । उसको आँखा उसकै नियन्त्रणमा थिएन । हामीसँग आँखा जुधाएर हेर्न सक्दैनथी ।
मुहार त अति राम्रो, चन्द्रमाजस्तो हिस्सी परेको । त्यसैले उसको नाम नै चन्द्रमाया थियो । तर उसलाई आफ्नो नाम पनि थाहा थिएन । बोलाउँदा पनि हेर्दैनथी । सायद कानमा समस्या जस्तो लाग्यो । तर गीतका टुक्राहरु गुनगुनाउने गर्थी । गीत गुनगाउँदा लामा वाक्य पनि गाउने गर्थी । तर गीतको अर्थ थाहा थिएन ।हात हल्लाएर नाच्थी। कहिलेकाँही रिस उठ्दा आमालाई चिमोट्थी, टोकी दिन्थी। अरु बच्चाहरु उनको सामु जान डराउँथे । जेठो छोरो दिदीसँग खेल्न खोज्थ्यो । हजुरबुबाले अलग राखी दिनुहुन्थ्यो । त्यतिखेर किन किन मैले छोरीको आवश्यकता बुझ्नै सकिनँ । सानोमा त दिशापिसाब पुछ्नमा समस्या थिएन । जब पाँच वर्ष नाघ्यो, दिशापिसाबमा समस्या हुन थाल्यो । एकतिर भन्न नजान्ने, अर्कोतिर हिड्न नसक्ने । किसान जातेैले घरमा बस्न नभ्याउने भएपछि छोरीलाई ध्यान कसले दिने?

म काममा जाँदा बुढी घाँस काट्न जान्थी । जाँदा कोठामा थुनेरै जाने गर्न थालिन् । छोरा भएपछि उपचारमा पनि चासो भएन। छोरी छ वर्ष पुग्दा अर्को छोरो थपियो । अनि त के चाहियो र? छोरीको स्याहार त एकादेशको कथा बन्यो । म कामबाट आउँदा थाकेको हुन्थेँ। उसकी आमा छोरालाई हेर्नै ठिक्क । छोरीलाई हेर्न जाँदा सुरुवालमा दिसा पिसाब मात्रै हुन्थ्यो । म कराएपछि बुढीले लुुगा फेरि दिन्थिन् ।
अनि छोरीलाई स्कूल पठाउने विचार आएन त, जेठाबा? पसलेले प्रश्न थपे । स्कूलमा भर्ना लिनुप-यो नि पहिले । दिसापिसाबको समस्या थाहा पाएपछि भर्ना लिनै मानेन गाउँको कुनै स्कूलले ।

समय बित्दै गयो । छोराहरु स्कूल जान थाले, चन्द्रमाया गोठमा। घरमा पनि दिशापिसाबको समस्या भएपछि गोठमा सारियो । कहिलेकाँही म आफै गोठमा सुत्न जान्थेँ। कहिले उसकी आमा जान्थिन् । दिउँसो छोरी एक्ली हुन्थी ।एक्लै रोएर बस्थी । केहि खानेकुरा उसको अगाडि हुन्थ्यो । अनि दिनभरि एक्लै । उसको मनमा के बित्थ्यो, भगवानले जानुन् । उसले परिवार नै चिन्न पाएन । अनि परिवारले उसलाई चिन्न । नानी गाइको गोबरसँगै खेलिरहन्थी । गाइको आवाज बाहेक अरु सुन्ने मौका न पाइनन् । न दसैँ, न तिहार, न ल्होसार चन्द्रमायाको लागि सधैँ उस्तै । पाहुना आउँदा पनि चन्द्रमाया गोठमै हुन्थी । घरमा भोज चल्दा उसको रुवावासी चल्थ्यो । चन्द्रमायाले मेरो परिवारमा जन्म लिनु नै उसको भुल थियो । नियतीको खेल तारेर टर्र्दैनथ्यो ।

गोठ नै बासस्थान भएपछि गाइको बाँ बाँ बाहेक अरु उसले सुन्न र सिक्नै पाएन । गाइ भैसीँको गोबरसँगै उसको दिशापिसाब सोहोरिन्थ्यो। सोहोरिन जाँदा छोरी बाँ बाँ गर्थी । बाबा भनेकी हुन् या बाँ बाँ भनेकी हुन् छुट्याउन सकिन्नथ्यो। आँसुले भिजेका उसका आँखाहरुले यताउति हेरिरहन्थी । के खोजिरहेकी भन्ने उसैलाई थाहा थिएन । म त उसको बुबा हो नि। मैले त बुझ्नुपथ्र्यो तर न मैले बुझेँ न उसकी आमाले । आज म ग्लानिले जलिरहेछु । छोराहरु बिदेशमा छन्, हामी एक्लिएका छौँ छोरीजस्तै । हिजो मैले छोरीलाई बुझिनँ, आज छोराहरु मलाई बुझ्दैनन् । पालोको पैँचो भनेको साँचो रहेछ ।
जेठाबा क्वाँ क्वाँ रुन थाले । पसलेले बीचमै रोकेर सोधे, अनि छोरीलाई पशुसँगै राख्न हुन्थ्यो त, जेठाबा ? तपाई त पढेलेखेको हो नि, बुझ्नु पर्दैन ?
जेठाबाले भने, हुन्थेन नि । मैले त्यस्तो व्यवहार रोक्नुपथ्र्यो । छोरीको उपचार गर्नुृपथ्र्यो तर सकिनँ । म त छोरो पाएपछि अन्धो न थिएँ ।
जब छोरीको पहिलो रजस्वला भयो । समस्या झन बढ्न थाल्यो । अब त छोरीलाई गोठबाट घरमा ल्याउने पनि कम हुन थाल्यो । विचरी छोरी केहि भन्न सक्दिनथी । रगत र दिशापिसाबमै बसिरहेकी हुन्थी । उसकी आमाले लुगा फेरेर भुइमा गुन्द्री ओछ्याइदिन्थिन् । गुन्द्री पनि दुर्गन्धले सहन नसक्ने हुन्थ्यो । हरेक दिन गोबर र रातोमाटोले दैलो लिपपोट हुन्थ्यो । तर मनको दैलो छोरीको गुन्द्रीजस्तै दुर्गन्धित थियो । आज महसुस गर्दैछु ।
मैले भनेँ, जेठाबा, त्यस्तो पाप किन गर्नु भएको त ?

जेठाबा भन्दै गए , पढेर मात्र के गर्नू? अन्धविश्वासको जालोमा परेको मान्छे न परेँ । त्यसपछि के भयो नि? सञ्जयले सोधे ।

एक दिन म खेतको कामबाट पर्खदा चन्द्रमायालाई हनहनी ज्वरो आएको थियो । रुमाल भिजाएर निधारमा राखीदिएँ । अनि एक चक्की सितामोल खान दिएँ । ज्वरो रोक्दै रोकेन । शरीर कहिले चिसिन्थ्यो, अनि कहिले तातिन्थ्यो । छोरी बर्बराउँथी । सिरकले बेस्सरी बेर्दा पनि कामिरहन्थी । होसमा आउँदा बाबा बाबा भन्थी । सायद धेरै दिनदेखि ज्वरो आएको हुनुपर्छ । हामीले याद नै गरेनौँ । पछि गाउँको औषधीमूलोले छोएन । धामी देखाउँदा पनि भएन । अन्तमा चन्द्रमायाले मेरै काखमा अन्तिम श्वास फेरी । त्यतिबेला चन्द्रमाया बाह्र वर्षकी मात्र थिई । म अझै उसलाई सम्झन्छु । बेला बेलामा सपनामा आउँछे । सपनामा पनि रोइरहेकी हुन्छे । कहिले यता हेर्छे, कहिले उता हेर्छे । म आर्फैलाई सम्हाल्न नसक्ने हुन्छु ।
म त आखिर पापी पो रहेछु । जिउँदै छोरीलाई मार्ने मजस्तो बुबालाई नरकमा पनि ठाउँ हुँदैन होला ।यति भनेर जेठाबा छाती पिट्दै रुन थाले ।
मैले भनेँ, त्यतिबेला कसैले हजुरलाई सम्झाएनन् त?

पल्लाघरे काकाले सम्झाएको त हो नि तर परिवारले नमानेपछि मैले केहि गर्न सकिनँ । बुढीले पनि भनेकी त हो, तर गाउँमा पोथी बाँसेको कसैले मन पराउँदैनथ्यो । आज बल्ल बुझ्दै छु । त्यसैले त म आज पश्चातापको आगोमा जलिरहेको छु ।

जेठाबाको कथा सुनेर अनायासमै आँखाबाट आँसु झ-यो । जेठाबाले सहि भनेका रहेछन्, पाप धुरीबाट कराउँछ । करोडौँ सम्पतिको मालिक भएर पनि छोरीको उपचार नगर्ने जेठाबासँग साह्रै रिस उठ्यो । दोष जेठाबाको मात्र थिएन, त्यतिखेरको समाजको थियो । छोरीलाई हेर्ने दृष्टिकोणको थियो ।
मोबाइलको घडी हेर्दा बाह्र बज्न लागेछ । सञ्जय र म मोटरसाइकलमा काठमाण्डौ फर्कियौँ। अहिले पनि सञ्जय यहि कथा सम्झिरहन्छन् र भन्छन्, जेठाबा त पापी रहेछन् । सायद चन्द्रमायालाई भएको हुनुपर्छ, मैले मनमनै भनेँ । अझै अटिजमलाई धेरैले बुझेको छैन होला, मनमनै गुनगुनाएँ । भगवानले परिवार हेरेर सन्तान पठाउँछ भन्थे, जेठाबाको कथा सुन्दा होइन जस्तो लाग्यो।