ताजा अपडेट

ट्रेन्डिङ

अक्सफोर्डमा भव्य फुड फेस्टिभल सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, पुस ४, २०८१
434 पटक हेरिएको
अक्सफोर्डमा भव्य फुड फेस्टिभल सम्पन्न

अक्सफोर्ड प्राक्टिकल स्कूलमा योमरी पूर्णिमाको अवसरमा प्रत्येक वर्षझैं यस वर्ष पनि मंसिर ३० गते आईतबार भव्य फुड फेस्टिभल कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको सीप र रचनात्मकताको प्रदर्शनका लागि विशेष रूपमा आयोजना गरिएको यस कार्यक्रममा, विद्यार्थीहरूले विभिन्न परिकारहरू तयार गरी आफैंले बिक्री गरेका थिए ।

विद्यालयका संस्थापक अध्यक्ष राम दुवालको अध्यक्षतामा सुरु गरिएको सो कार्यक्रममा ग्लोबल लाईफ एकेडेमीका प्रिन्सिपल मधुमर्दन शर्मा, जीवन सुवालको विशेष आतिथ्यता थियो। सो कार्यक्रममा करिब १६ वटा विभिन्न स्टलहरु राखिएका थिए।

कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई व्यावसायिक सीप, सामूहिक सहकार्य र सामाजिक व्यवहार सिकाउनु रहेको थियो, कार्यक्रमका संयोजक तथा शिक्षिका मनिता नेपालले बताए ।

फुड फेस्टिभलमा कक्षा नर्सरी, जेकेजी, एसकेजी, १ र २ का विद्यार्थीहरूको लागि छुट्टै स्टलहरूको व्यवस्था गरिएको थियो । साना विद्यार्थीहरूले आफ्नै प्रयासले विभिन्न फलफूल, तरकारी र साना घरेलु खाद्य सामग्री बिक्री गरेका थिए । उनीहरूले ग्राहकहरूसँगको संवाद, सामग्री बेच्ने तरिका र व्यापारको आधारभूत ज्ञानको अनुभव गरे ।

फुड फेस्टिभलमा कक्षा ९ सम्मका विद्यार्थीहरुले स्थानीय परम्परागत परिकार जस्तै योमरी, बारा, चटामरी, समेबजी, लप्सीको अचार, पुष्टकारी आदिको स्टल राखेका थिए । त्यस्तै कक्षा ११ र १२ मा अध्ययनरत होटल म्यानेजमेन्टका विद्यार्थीहरुले आधुनिक खानाहरू जस्तै मःमः, लाफिङ, ससेज्, खीर, फ्रुट सलाद आदिको स्टल राखेका थिए । साना कक्षाका विद्यार्थीहरूको जोश र ठूला कक्षाका विद्यार्थीहरूको जिम्मेवारीपूर्ण व्यवहार सो कार्यक्रमको प्रशंसनीय पक्ष रहेको थियो ।

IMG 20241219 WA0000

फेस्टिभललाई थप रोचक बनाउन विभिन्न गतिविधिहरूको पनि आयोजना गरिएको थियो । विद्यार्थीहरूले सांस्कृतिक तथा आधुनिक नृत्य प्रस्तुत गरेर कार्यक्रममा रंग थपेका थिए। त्यस्तै प्रत्यक्ष गायनद्धारा आगन्तुक सम्पूर्णलाई विद्यार्थीहरूले मनोरञ्जन प्रदान गरेका थिए । अवलोकनका लागि उपस्थित आगन्तुकहरुलाई पनि आफ्नो प्रस्तुति राख्ने मौका दिएको सो ‘ओपन माइक कन्सर्ट’ मा प्रतिभा प्रस्तुतिका लागि अवलोकनकर्ताहरुको समेत सहभागिता भएकोले कार्यक्रम अझ भव्य र सफल बनेको थियो ।

IMG 20241219 WA0005

IMG 20241219 WA0004

त्यस्तै आगन्तुक तथा सहभागीहरू मध्यबाट भाग्यशाली छनौट अन्तर्गत ५ जनालाई विशेष लक्की ड्र गिफ्टहरू पनि प्रदान गरिएको थियो। स्वस्थ खानपान र पोषण सम्बन्धी जानकारी दिने स्टल, फेस पेन्टिङ, विभिन्न मनोरञ्जनात्मक खेलका स्टलहरु आकर्षणका केन्द्रविन्दु बने।

मूल्यांकन समितिले कक्षा नर्सरी देखि कक्षा २ सम्मका विद्यार्थी नानीहरूको व्यवसायिक कला र प्रस्तुतिको कदर गर्दै उक्त समूहका विद्यार्थीहरुको स्टललाई सर्वोत्कृष्ठ स्टल घोषणा गरेको थियो । अध्यक्ष राम दुवालले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण विद्यार्थी, अभिभावक, अतिथि र स्थानीय सहभागीहरूप्रति आभार व्यक्त गरेका थिए । फुड फेस्टिभल, स्वाद, सिर्जनशीलता र मनोरञ्जनको उत्कृष्ट संयोजन हो, जसलाई भविष्यमा अझ सफलताका साथ आयोजना गरिनेछ भन्ने प्रतिबद्धताका साथ सो फुड फेस्टिभल औपचारिक समापन गरिएको थियो ।