महाकालीस्थान, भक्तपुरमा अवस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलको ३८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस २०८१ भव्यताका साथ सम्पन्न भएको छ ।
विद्यालयका संस्थापक निर्देशक अञ्जु जोशीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्य रहेको थियो भने प्याब्सन भक्तपुर जिल्ला कार्यसमिति अध्यक्ष राजन कसपाल र भनपा वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालको विशेष आतिथ्य रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथि जोशीले विद्यार्थीहरुले बाँसुरीमा बजाएको मंगल धुनबीच पानसमा दीप प्रज्वलन गर्दै उदघाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपमेयर जोशीले गोल्डेन गेटले शिक्षित मात्र नभई ज्ञानसहितको नागरिक तयार पार्न अभ्यास गर्दै आएको पठन संस्कृति विकास कार्यक्रम, गराईको अनुभवमा आधारित सिकाई र सिर्जनशिलताको अभ्यास पृथक रहेको बताउँदै अन्य विद्यालयहरुले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरे । साथै उनले भक्तपुर नगरपालिकाले भक्तपुरलाई आधुनिक प्रविधी सहितको ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्य अनुरुप ७ हजार विद्यार्थी सहित ७ वटा शैक्षिक संस्था संचालन गर्दै आएको उल्लेख गर्दै विद्यालयहरुले देशलाई माया गर्ने र देशमै बस्ने राजनैतिक, सांस्कृतिक र ऐतिहासिक चेत भएको जनशक्ति तयार पार्न भूमिका खेल्नुपर्ने बताए ।
विशेष अतिथि वडाध्यक्ष डा. हरिराम सुवालले शिक्षक, अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधीहरुमा शिक्षासँगै संस्कार र संस्कृतीप्रति माया र देशप्रेमको भावना विकास गर्नुपर्ने बताउँदै देशमा युवाहरु रित्तिँदै गएकोमा यसबाट मुलुकलाई पर्न जाने गम्भिर असरबारे चिन्ता व्यक्त गरे । डा. सुवालले भक्तपुर नगरपालिकाद्वारा हालै आयोजित भक्तपुर महोत्सवमा विद्यालयले वडा नं. ६ मा प्रस्तुत गरेको नेवारी जीवन शैली गतिविधी प्रदर्शनी र ख्वप कलेजमा प्रस्तुत गरेको शैक्षिक प्रदर्शनीको प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गरे ।
अर्का विशेष अतिथि प्याब्सन अध्यक्ष राजन कसपालले विद्यालयका प्रिन्सिपल स्वयं कुशल शिक्षासेवी भएको उल्लेख गर्दै उनले भक्तपुर प्याब्सन र सदस्य विद्यालयहरुको शैक्षिक गुणस्तर उकास्न शिक्षक र विद्यार्थीहरुलाई तालिम र गोष्ठी मार्फत खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै कार्यक्रमको सफलताको कामना गरे ।
प्रिन्सिपल एवं को–फाउण्डर सिङ्ग लामाले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै वृहत् पठन, पुस्तक वार्ता, सर्जकीय रुपान्तरणमा परिलक्षित मकै घर, फोनिक्स पठन, पिबिएल सिकाई, ईसिए फेष्टिवल, स्टार डे, आदि जस्ता विद्यालयका मौलिक अभ्यासहरुको संक्षिप्त जानकारी प्रदान गरे ।


कार्यक्रममा प्रमुख अतिथि उपमेयर जोशीले विद्यालयले आयोजना गरेको ईसिए फेस्टिवलका १६२ जना विजेताहरुहरुलाई पदक गरेका थिए भने विशेष अतिथि डा. हरिराम सुवालले विद्यालयको पठन संस्कृती विकासमा परिलक्षित एक्स्टेन्सिव रिङड कार्यक्रम अन्तर्गत ५० भन्दा बढि पुस्तक अध्ययन गर्ने २५ जना पाठकहरुलाई गोल्डेन रिडर्स ब्याच र अर्का विशेष अतिथि राजन कसपालले विद्यार्थीहरुमा अन्तर्निहित स्टार गुण प्रस्फुटन गर्न आयोजित गोल्डेन स्टारका नियमित प्रस्तुतकर्ताहरुलाई गोल्डेन स्टार तक्मा प्रदान गरेका थिए ।
उक्त कार्यक्रम विद्यार्थीहरुको नृत्य, गायन, वाद्यवादन, नाटक, बुक रिभ्यू, आदिको व्यापक प्रस्तुतीले अत्यन्त हर्षोलासमय बनेको थियो भने अभिभावकहरुको बाक्लो उपस्थितीले थप उर्जा प्रदान गरेको थियो ।


