स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय मन्त्री प्रदीप पौडेलले भक्तपुर क्यान्सर अस्पतालमा आज विश्व क्यान्सर दिवसको अवसरमा ‘रिपोर्टिङ भेन्डिङ मेसिन’ को उद्घाटन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले विश्व क्यान्सर दिवसको अवसर पारेर भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएका क्यान्सर सरभाइभर बिरामीहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै लामो समयदेखि प्यालिएटिभ वार्डमा स्वयम्सेवकको रुपमा सेवा गर्नुभएका शंकर प्रधानांग र दिपक ओलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा महत्वपूर्ण योगदान पु-याइरहेको बताउँदै अस्पतालको क्षमता अभिवृद्धि, कार्यरत जनशक्तिको मेहेनतको प्रतिफलका कारण भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर उपचारमा विशिष्ट योगदान पु¥याएको बताउनुभयो ।

साधनस्रोतको सीमितताका कारण अस्पतालले अपेक्षाकृत ढंगले सेवा दिन नसकेको बताउँदै उनले अस्पतालको क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा मन्त्रालयले सक्दो सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दै स्वास्थ्य बीमा व्यवस्थित भयो भने मात्र स्वास्थ्य क्षेत्रका समस्या पनि हल हुने तथा सस्तो, सर्वसुलभ र निःशुल्क उपचार प्राप्त गर्न सक्ने बताउँदै उहाँले स्वास्थ्य बीमालाई रु. १ लाख बाट बढाएर रु. ५ लाख बनाउने गरी तयारी स्वास्थ्य मन्त्रालयले गरिरहेको बताए।
भक्तपुर क्यान्सर अस्पताल सरकारको एउटा महत्वपूर्ण अंग भएको बताउँदै स्वास्थ्य क्षेत्र गुणस्तरीय हुनुपर्ने बताए। देशका १७ लाख किशोरीहरुलाई एचपीभी खोप उपलब्ध गराउने गरी खोप लगाउने कार्यको सुरुवात गरेको बताउँदै उहाँले ८ हजार २०० खोप केन्द्रहरुमा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीहरले एचपीभी खोप प्राप्त गर्ने गरी देशैभरि प्रबन्ध गरिएको बताए ।
यो खोप अभियानसँगै पाठेघरको मुखको क्यान्सरबाट ग्रसित हुन नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि सारेको बताउँदै मन्त्री पौडेलले बिरामी हुन नदिनका लागि स्वास्थ्य केन्द्र तोकेर जनचेतना विस्तार गर्ने र खोप उपलब्ध गराउने ढंगले काम गरिरहेको बताए ।
विद्यालयमा अनिवार्य रुपमा स्वास्थ्य शिक्षा पठनपाठनको व्यवस्था गरेकोे बताउँदै उनले क्यान्सर उपचारमा प्रयोग हुने केमोथेरापी निःशुल्क प्राप्त हुने गरी मन्त्रालयले तयारी गरिरहेको सोही क्रममा बताए ।
अस्पतालहरु उपकरणयुक्त हुनुपर्ने बताउँदै उनले अस्पतालका फार्मेसीहरुमा सबै किसिमका औषधी उपलब्ध गराउनेगरी अस्पतालहरुले सेवा प्रदान गर्नेतर्फ जोड दिनुपर्ने बताए ।
स्वास्थ्यकर्मीले कसैको दबाबमा कम गर्न सक्दैन भन्दै उनले डाक्टर र नर्सले बिरामीहरुलाई प्रेमपूर्वक व्यवहार गर्दा बिरामीलाई धेरै ठूलो राहत पुग्ने बताए ।
भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उज्ज्वल चालिसेले नेपालमा हरेक वर्ष करिब २२ हजार जनालाई क्यान्सर रोग लाग्ने र १४ हजार जनाको वर्षेनी क्यान्सर रोगका कारण मृत्यु हुने तथ्यांक प्रस्तुत गर्दै क्यान्सर रोग सकेसम्म लाग्नै नदिने र लागिहालेमा छिटो पहिचान गरी उचित उपचार गर्न सकियो भने निर्मुल पार्न सकिने बताए ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाले एचपीभी खोप अभियानबारे प्रष्ट पारे । त्यस्तै अस्पताल विकास समितिका अध्यक्ष दिपेन्द्ररमण सिंहले सीमित स्रोतको बाबजुद भक्तपुर क्यान्सर अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको बताए ।
कार्यक्रममा क्यान्सर सर्भाइभर रेनुका सुवेदी, गीता बराल, अमृत गुरुङलगायतले आफ्नो क्यान्सर उपचारको अनुभव सुनाएका थिए ।
