ताजा अपडेट

ट्रेन्डिङ

टिम वायुदृष्टिले जित्यो एसएमसीम हल्ट प्राइज

Gyan Khabar

ज्ञानखबर

शनि, माघ २६, २०८१
693 पटक हेरिएको
टिम वायुदृष्टिले जित्यो एसएमसीम हल्ट प्राइज

सरस्वती बहुमुखी  क्याम्पस (SMC) मा आयोजित हल्ट प्राइजको फाइनल नवप्रवर्तन र उद्यमशीलताको भव्य उत्सवका रूपमा माघ २५ गते सिटी स्क्वायर, कस्मे इभेन्ट्समा सम्पन्न भएको छ ।

१२ उत्कृष्ट प्रतिस्पर्धी टोलीहरूमध्ये टिम वायुदृष्टिले वायुप्रदूषण अनुगमन प्रणाली सम्बन्धी नवप्रवर्तक विचार प्रस्तुत गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ। टिमले विकास गरेको हावा गुणस्तर निगरानी गर्ने प्रविधि किफायती, प्रभावकारी तथा पेटेन्ट दर्ता भइसकेको छ। 

प्रतिस्पर्धामा टिम स्पार्कले पहिलो उपविजेता स्थान प्राप्त गर्‍यो, जसले चिकित्सकहरू र स्वास्थ्यकर्मीहरूलाई जोड्ने डिजिटल हेल्थकेयर प्लेटफर्मको अवधारणा प्रस्तुत गरेका थिए । यसैगरी, टिम सुगरर्‍यापले दोस्रो उपविजेता स्थान हासिल गर्‍यो, जसले प्रयोग भएका उखुको अवशेषलाई कप तथा अन्य उपयोगी सामग्रीमा पुनः प्रयोग गरी वातावरणमैत्री उत्पादन गर्ने नवप्रवर्तनशील योजना अघि सारेका थिए।

प्रतियोगितालाई न्यायोचित मूल्याङ्कन गर्न विभिन्न क्षेत्रका विज्ञहरू नवप्रवर्तन तथा उद्यमशीलता क्षेत्रमा विज्ञ सरीता श्री ज्ञवाली, व्यवसायिक रणनीति तथा व्यवस्थापन विशेषज्ञ प्रिन्स शाह चौधरी, प्रविधि र उद्यमशीलता विकासमा अनुभवी कबिन मलेकु र वातावरणीय तथा सामाजिक उद्यमशीलता विज्ञ जिस्वन तुलाधर श्रेष्ठ निर्णायककाे रूपमा रहेका थिए । निर्णायकहरूले प्रतिस्पर्धी टोलीहरूको नवप्रवर्तन, व्यवहारिक कार्यान्वयन, सम्भावना तथा सामाजिक प्रभावलाई मूल्याङ्कन गर्दै निष्पक्ष निर्णय गरेका थिए।

प्रतियोगितामा पूर्व शिक्षा मन्त्री तथा सांसद देवेन्द्र पौडेलले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक सोच अभिवृद्धि गर्न प्रेरित गर्ने बताउँदै प्रतियोगिताको उच्च प्रशंसा गरे । सांसद सुमना श्रेष्ठले नेपालमा उद्यमशीलताको वर्तमान स्थिति र यसको भविष्य विषयमा प्रेरणादायी मन्तव्य दिँदै नवप्रवर्तनशील सोचलाई व्यवहारिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता प्रष्ट पारे । कार्यक्रममा सहभागिता जनाउने विद्यार्थीहरूले यस्ता अवसरहरूले आफूहरूलाई व्यवसायिक सोच विकास गर्ने प्रेरणा मिल्ने प्रतिक्रिया दिएका थिए ।

प्रतिस्पर्धाका विजेताहरूका साथै उत्कृष्ट आयोजक समिति सदस्यहरू, स्वयंसेवकहरू, र अन्य सहयोगी साझेदारहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

प्रतिस्पर्धापछि नेपाली सांस्कृतिक विविधताको प्रदर्शन गर्दै विद्यार्थीहरूले आकर्षक प्रस्तुति मार्फत कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।

FB IMG 1739061875146

यस कार्यक्रमले नेपाली युवा उद्यमीहरूको अद्वितीय प्रतिभा झल्काएको छ, जसले विश्वव्यापी स्टार्टअप इकोसिस्टममा महत्वपूर्ण प्रभाव पार्नेछ तथा हल्ट प्राइज एट एस.एम.सी (SMC) युवा परिवर्तनकर्ताहरूका लागि अवसर र आशाको केन्द्र बन्न सफल भएको क्याम्पस डाइरेक्टर शिशिर मरासिनीले बताए ।

IMG 20250205 WA0091

FB IMG 1739061657776