ताजा अपडेट

ट्रेन्डिङ

स्थानीय पाठ्यक्रम परिमार्जनको लागि शिक्षकहरुको कार्यशाला

Gyan Khabar

ज्ञानखबर

मङ्ल, माघ २९, २०८१
490 पटक हेरिएको
स्थानीय पाठ्यक्रम परिमार्जनको लागि शिक्षकहरुको कार्यशाला

भक्तपर नगरपालिका शिक्षा शाखाको आयोजनामा भक्तपुर नगरपालिकाको सभाकक्षमा स्थानीय पाठ्यक्रम ख्वपको पहिचान परिमार्जनका लागि नगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुबीच परामर्श तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत तहका विद्यार्थीहरुको सोच र चिन्तनमा सकारात्मक विकास हुने भएकोले स्थानीयता र आत्मनिर्भरताको विषयलाई परिष्कृत गर्ने दायित्व शिक्षकको भएको बताउँदै अबौं लगानी गरेर उत्पादन भएको डाक्टर, इन्जिनियर जस्ता जनशक्ति विदेशिँदा देशमा विरामी आमाबाबुको हेरचाहका लागि प्राविधिकहरु पाउन नसकिने भएकोले विद्यार्थीहरुलाई सामाजिक व्यवहार र देशभक्तिको कुरा समेत सिकाउन जोड दिए ।

उनले विद्यार्थीको क्षमता अनुसार उचित मल्यांकन र प्रोत्साहन गरी मार्गनिर्देशन दिएमा देश र जनताको लागि लाभदायक विद्यार्थी हुने बताउँदै शिक्षक समयसमयमा अपडेट भई स्थानीय भाषाको सिकाइबाट आत्मियतामा विद्यार्थीलाई प्रमाणपत्रसहित कम्तिमा एउटा सीप प्रदान गर्न अघि सर्नुपर्ने बताए ।

स्थानीय भाषासँगै सीप, ज्ञान र धारणा नयाँ पुस्तामा हस्तान्तरणको लागि स्थानीय पाठ्यक्रमले सहयोग गर्ने बताउँदै उनले नेपालको राजनीतिक अस्थिरता र बढ्दो अव्यवहारिक शिक्षाका कारण नेपालका कलेज क्याम्पसमा विद्यार्थीको आकर्षण कमले ५०४ वटा कलेज बन्द हुने स्थिति रहेको जानकारी दिए ।

स्थानीय पाठ्यक्रम परिमार्जन कार्यदलका संयोजक तथा भनपा ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेले पाठ्यक्रम परिमार्जनको लागि संचालन भएको परामर्श तथा कार्यशाला गोष्ठीमा आएको सल्लाह र सुझावबाट सन्दर्भ सामाग्री र पाठ्यक्रम बालमैत्री, अभिभावकमैत्री तथा शिक्षकमैत्री हने बताउँदै समाजसेवी, विद्धतवर्ग, शिक्षक, अभिभावक तथा स्थानीय पाठ्यक्रमको शैक्षिक गुणस्तर परीक्षण नतिजाको विश्लेषण सहित पाठ्यक्रम विकास केन्द्रसम्म पृष्ठपोषण लिने बताए ।

भक्तपुर नगरपालिकाका प्रशासकिय अधिकृत वसन्त भट्टराईले देशमै खोजी र चासोको विषय रहेको भक्तपुरको स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय स्रोत साधनको प्रयोगमा स्थानीय बुद्धिजिवी समाजसेवीको सहभागिता भएको बताउँदै सेवा प्रवाहमा स्थानीय भाषा र लिपीको प्रयोगमा स्थानीयको अपनत्वले समेटिएको सुझाव अभिलेखीकरण गरी पूँजीको रुपमा प्रयोग गर्ने बताए ।

पाठ्यक्रम निर्माणका कार्यदलका सदस्यत्रय सिद्धिरत्न शाक्य, उद्दव सुजखू र रोशनराज तुइतुईले सहजीकरण गरिएको उक्त कार्यशालामा ७० जना शिक्षकहरुको विभिन्न ८ वटा समूहले छलफल, व्यवहारिकता तथा विद्यार्थीको तह र स्तर अनुसारको विषयवस्तु, पाठ्यक्रममा समेट्नुपर्ने विचारहरु प्रस्तुत गरेका थिए ।

भक्तपुर नगरपालिकाले वि सं. २०७५ सालमा सर्वप्रथम स्थानीय सरकार संचालन ऐन २०७४ र संविधानसभाको संविधानले दिएको अधिकार प्रयोग गरी स्थानीय पाठ्यक्रम लागु गरी कार्यान्वयनमा ल्याएको थियो ।