डियरवाक सिफल स्कुलको आयोजनामा छैटौँ कला तथा सङ्ग्रहालय प्रदर्शनी सम्पन्न भएको छ । माघ २६ र २७ गते दुई दिनसम्म चलेको प्रदर्शनीमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले सिर्जना गरेका २०० तस्बिरहरू प्रदर्शित गरिएका थिए ।
कार्यक्रमको अर्को आकर्षण डियरवाक स्कुलले निर्माण गरेको सङ्ग्रहालयको प्रदर्शन रहेको थियो । ऐतिहासिक, सांस्कृतिक र पुरातात्त्विक वस्तुहरू प्रदर्शित उक्त कार्यक्रममा कृषि सामग्री र औजार, विभिन्न जातिका वेशभूषा, घरायसी सामग्री, परम्परागत भाँडाकुँडा, नेवार जातिसँग सम्बन्धित पूजा सामग्री, विभिन्न जातजातिसँग सम्बन्धित वाद्यवादनहरू साथै ऐतिहासिक सम्पदाहरू प्रदर्शित थिए ।


चित्रकला प्रदर्शनसँगै कार्यक्रममा विद्यार्थीहरूद्वारा सञ्चालित विभिन्न रोमाञ्चक खेलका स्टलहरू पनि राखिएका थिए ।
कार्यक्रमलाई अझ जीवन्त र मनोरञ्जनात्मक बनाउन सङ्गीत तथा नृत्य क्लबका विद्यार्थीहरूको नेतृत्वमा ओपन माइकको पनि आयोजना गरिएको थियो । उक्त मञ्चमा विद्यार्थीहरूले नृत्य, गायन तथा अन्य कलात्मक प्रस्तुति दिएका थिए । यसले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।

दुई दिनसम्म सञ्चालित उक्त कार्यक्रममा २५ वटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू साथै अन्य अभिभावकसहित १३ सय आगन्तुकले प्रदर्शनीको अवलोकन गरेका थिए ।

