रुपन्देहीको बुटवलस्थित क्यानन माध्यमिक विद्यालयको फागुन २ गते शुक्रबारका दिन २८ औँ वार्षिकोत्सव तथा रजत जयन्ति सम्पन्न बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै हुने टिप्पणी गर्दै उनले समय सापेक्ष डिजिटल शिक्षामा अघि बढेर युग सुहाउँदो शिक्षा आर्जन गर्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले बालबालिकाको पहिलो शिक्षक अभिभावक र दोस्रो शिक्षा दिने स्कुल रहेको उल्लेख गरे ।
उपसभामुख रानाले विद्यार्थीलाई इमानदार, सादगी र सदाचारी बन्न समेत आग्रह गर्दै उनले भने बुटवलको क्याननले गरेको अभ्यास अनुकरणीय छ । अहिले टेक्नोलोजीले संसार सानो बनाएको छ, संसारका सबै गतिविधि एकै छिनमा सबैले जान्न र हेर्न सक्छन्, त्यसैले आँट र शाहस गरेर अघि बढ्नुपर्ने उनले बताए।
कार्यक्रममा नगद ५१ हजारसहित उपसभामुख राना मगरलाई विद्यालयले अभिनन्दन गरेको थियो । त्यस्तै, राष्ट्रिय क्रिकेट खेलाडि देव खनाललाई अनुबन्धन गरेको र पत्रकार कपिल ज्ञवालीलाई नगद १० हजार, दोसल्ला तथा प्रसंशापत्रले सम्मान गरिएको थियो । साथै विद्यालयका संस्थापकहरु, उत्कृष्ट शिक्षक, कर्मचारी, सहयोगी सबैलाई प्रसंशापत्र, करुवा तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्राचार्य शंकर भण्डारीले विद्यालयलाई समय सापेक्ष परिवर्तन गरेर अघि बढ्नका लागि नयाँ भिजन तयार पारिएको उल्लेख गर्दै अबको पाँच वर्षमा रुपन्देहीको सर्वोत्कृष्ट स्कुलका रुपमा परिवर्तन गरेर देखाउने दाबी गरे ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्डका प्रमुख रोमाकान्त तिवारी, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, अभिभावक संघका अध्यक्ष लोकनाथ ज्ञवाली, विद्यालयका अध्यक्ष थानेश्वर पौडेल, प्रबन्ध निर्देशक दिपक पौडेल, प्राचार्य शंकर भण्डारी, सञ्चारकर्मी सुमन श्रेष्ठ लगायतले आआफ्नो धारणा राखेका थिए ।


