भक्तपुरमा चौथो गोल्डेन गेट पिबिएल मेला २०८१ भोलि फागुन ४ गते आयोजना हुँदैछ ।
महाकालीस्थान भक्तपुरमा अवस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलमा मल्टिपल ईज्टेलिजेन्सेजमा आधारित प्रोजेक्ट बेस्ड लर्निङ अर्थात एमआई पिबिएल पद्दती अन्तर्गत शैक्षिक सत्र २०८१ मा नियमित सिकाई निर्माण गर्ने क्रममा कार्यान्वयन भएका पिबिएल प्रोजेक्टहरुको सार्वजनिक प्रस्तुतीकरण गर्नका लागि यो कार्यक्रम आयोजना हुन लागेको हो ।
विद्यालयले ११ वर्ष अघि सिकाईको ध्येयलाई परिवर्तन गरी विद्यार्थीहरुको हरेक सिकाई अवसरलाई वास्तविक जीवन र जगतसँग जोडेर उनीहरुको वैयक्तिक बुद्धिमत्ता मुताबिकको विशिष्टिकृत क्रियाकलापहरुमा संलग्न गराई उक्त गराईको अनुभव र अनुभवमा रिफ्लेक्शन मार्फत गहिरो सिकाई निर्माण गर्ने प्रोग्रेसिव सिकाई प्रकृया विकास गर्ने प्रयासको थालनी गरेको थियो ।
प्रिन्सिपल तथा एमआई पिबिएल पद्दतीका प्रवर्तक सिङ्ग लामाले दिएको जानकारी अनुसार मेलामा १०७ वटा चुनिएका पिबिएल् प्रोजेक्टहरुका साथमा विद्यार्थीहरुलाई पाठकबाट सर्जकमा रुपान्तरण गर्ने अभिप्रायले संचालित वृहत् पठन र निरन्तर सिर्जना कार्यक्रम अन्तर्गत सिर्जना गरी नियमित “मकै घर” कार्यक्रमहरुमा प्रस्तुत गरिएका ८९७ वटा अंग्रेजीमा लेखिएका र ७९२ वटा नेपालीमा लेखिएका बालसाहित्यका रचनाहरु प्रस्तुतीमा राखिएका छन् ।
विद्यालयले वि.सं. २०७५ देखि यस्तो मेला वार्षिक रुपमा आयोजना गर्दै आएको छ । कार्यक्रम शिक्षाकर्मी तथा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष डा. हरिराम सुवालको प्रमुख आतिथ्यतामा हुने प्रिन्सिपल लामाले जानकारी दिए ।
कार्यक्रमको अवसरमा एमआई पिबिएल सम्बन्धी महत्वपूर्ण जानकारीहरुका साथमा ९ वटा “स्पटलाईट प्रोजेक्टहरु” समेटिएको विशेष कार्यक्रम पुस्तिका समेत प्रकाशित गरिने जनाएको छ ।