भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा तारा माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव कार्यक्रम सोमबार एक कार्यक्रमबीच सम्पन्न भएको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले विद्यार्थीहरुले अनुशासनका कायम गर्न सके विद्यार्थीको भविष्य सफल र पूर्ण बन्ने बताउँदै अनुशासनले विद्यार्थीको चारित्रिक गुणको विकास गर्ने बताए । विद्यार्थीहरुलाई स्वयम्सेवी भावनाको विकास गरी जनताको निम्ति काम गर्न प्रेरित गर्नुपर्ने बताउँदै उनले आजको सामाजिक कार्यकर्ता भविष्यका राजनैतिक कार्यकर्ता हुने हुँदा विद्यालय जीवनदेखि सक्षम र योग्य बनाउनतर्फ शिक्षकहरुले जोड दिनुपर्ने बताए।
सामुदायिक र निजी शिक्षालाई समान ढंगले विकास गर्ने प्रयास भक्तपुर नपाले गर्दै आएको बताउँदै उनले भक्तपुर नपाले ख्वप विश्वविद्यालय सञ्चालन गरी देशभरिका विद्यार्थीलाई सस्तो र गुणस्तरीय उच्च शिक्षा प्रदान गर्ने उद्देश्य लिएको बताए।
कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुरको शिक्षा विकासमा तारा माध्यमिक विद्यालयको भूमिकाबारे प्रष्ट पार्दै विद्यालयले आजको अवस्थासम्म आइपुग्नुमा यहाँका अग्रज, समाजसेवी, शिक्षासेवीहरुको महत्वपूर्ण देन रहेको बताए ।
विद्यालयका प्रधानाध्यापक प्रेमलक्ष्मी त्वायनाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा तारा माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य उद्धव सुजखूले, विष्णुप्रसाद दुमरु, विद्यालयका संस्थापक अध्यक्ष पुष्पलाल सुजखू, संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुई, अनिवार्य अवकाशप्राप्त शिक्षक कृष्णगोविन्द दुवाल, शिक्षक हरिकृष्ण प्रजापति, लेखा सहायक रविन्द्र सुजखू, शिक्षक विनोद कासुला र हरिप्रसाद बास्तोलाले पनि बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो भने विशेष अतिथि तथा अन्य अतिथिहरुले विद्यालयको आयोजनामा भएका अतिरिक्त क्रियाकलापका विजेताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए भने विद्यालयबाट अनिवार्य अवकाश प्राप्त शिक्षक कृष्णगोविन्द दुवाललाई दोसल्ला ओढाई बिदाइ गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।


