नेशनल प्याब्सन को आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुनेभएको छ ।
नेशनल प्याब्सनले आइतबार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको छ ।
नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले संसदमा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयक गिजोलिँदै गएको र मुलुकमा गणतन्त्र स्थापना भएको लामो समय बित्नलाग्दा पनि नयाँ शिक्षा ऐन जारी हुन नसक्नु दुःखद भएको बताए ।
उनले देशको शिक्षा क्षेत्र धेरै क्षेत्रबाट प्रभावित बन्दै गएको सन्दर्भमा महाधिवेशनले शिक्षाका समस्याका बारेमा समिक्षा गर्दै नयाँ सुझाव प्रस्तुत गर्ने बताए ।राष्ट्रिय प्याव्सनको अर्को पक्षले पनि महाधिवेशनको मिति तोकेको छ।सो पक्षले फागुन १५ र १६ गते महाधिवेशन गर्दैछ ।
नेपालगन्जमा सम्पन्न सातौं महाधिवेशनमा पाण्डव हमाल र सुवास न्यौपानेलाई डेढ–डेढ वर्ष नेतृत्व गर्ने लिखित सहमति भएको थियो ।
सुरुको डेढ वर्ष बितेपछि हमालले नेतृत्व छाड्न अस्वीकार गर्नु भएपछि न्यौपानेले सहमतिअनुसार अध्यक्षको पदभार ग्रहण गर्नु भएको थियो ।यसप्रति हमाल समूहले पाटन उच्च अदालतमा रिट दर्ता गरेकोमा अदालतले रिट खारेज गर्दै न्यौपाने समूहलाई वैधानिकता दिएको थियो ।
