हिसानहिसान तारकेश्वरद्वारा आयोजित क्विज प्रतियोगिता सम्पन्न भएको छ। तारकेश्वर क्षेत्रका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबीच भएको यो तारकेश्वर हिसानका ८ सदस्य विद्यालयबाट ६ विद्यालयको सहभागिता रहेको थियो।
विद्यार्थीहरूको बौद्धिक विकास र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हिसान तारकेश्वरले यो कार्यक्रम वार्षिक रूपमा आयोजना गर्दै आएको छ। हिसानका केन्द्रीय सचिव राजेन्द्र अधिकारीको प्रमुख आतिथ्य र हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रतियोगितामा एन्जलस् हार्ट प्रथम, कौशल अङ्ग्रेजी मावि द्वितीय, हिमरश्मि हाई स्कूल तृतीय र लाली गुराँस नेशनल एकेडेमी चौथो भएका थिए। विजेता विद्यार्थीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो।
कार्यक्रमलाई हिसानका संयोजक राजेश रायमाझी लगायत पुष्पकमल केसी, युनिक धिताल, मनिका गुरुङ, रविन तामाङ र सिर्जना ज्ञान सागरका विद्यार्थीहरूले सहयोग गरेका थिए।
कार्यक्रमको सहजीकरण प्रारम्भ वर्ल्ड स्कूलका प्राचार्य कमल ज्ञवालीले गरेका थिए। कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, शिक्षक र पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कल्याण अधिकारी र विवेक अर्यालले क्विज सञ्चालन गरेका थिए।
हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुनले कक्षा १२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने तीन विद्यार्थीलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। उनले विद्यार्थीहरूको शैक्षिक रुचि बढाउन हिसान तारकेश्वरले पनि थप पुरस्कार योजना ल्याउने जानकारी दिए।