नेपालभरका शैक्षिक परामर्शदाताहरूको साझा मञ्च राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) को छैटौं साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ। संघका अध्यक्ष सन्तोष प्याकुरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रतिनिधि सभाका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापा प्रमुख अतिथि थिए।
साधारणसभाले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा भइरहेका विभिन्न परिवर्तन, विश्वव्यापी आर्थिक अवस्था र अन्तर्राष्ट्रिय राजनीतिक परिवर्तनका सन्दर्भमा परामर्श क्षेत्रका वर्तमान चुनौती र भविष्यका रणनीतिबारे छलफल गरेको छ।
कार्यक्रममा प्रतिनिधि सभाका सांसद मनिष झा, NECA कोशी प्रदेशका अध्यक्ष सन्तोष लिम्बू, लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष सुशील पाण्डे, विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति थियो।

साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि थापाले NECA ले नेपाली विद्यार्थीलाई विदेशी विश्वविद्यालयमा गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग गरेकोमा धन्यवाद दिए। उनले शिक्षा विधेयकमा परामर्शदाताका भावना समेट्ने प्रतिबद्धता जनाए। थापाले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सरकारले विशेष ध्यान दिनुपर्ने र सार्वजनिक पद धारण गर्ने व्यक्तिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए।
विशेष अतिथि सांसद मनिष झाले उच्च शिक्षाका लागि विदेशमा अध्ययन गर्न जाने कुरा विश्वव्यापी रहेको र यसलाई सहज रूपमा लिनुपर्ने बताए। उनले शैक्षिक परामर्शदाताले विद्यार्थीलाई भविष्यका उद्यमी र देशका पूँजीका रूपमा हेरेर परामर्श दिनुपर्ने सुझाव दिए। झाले सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव र पार्टीगत शिक्षकको उपस्थिति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे।
NECA का अध्यक्ष सन्तोष प्याकुरेलले देशभित्र नीतिगत र नियामकीय चुनौती बढ्दै गएको बताए। उनले सरकारले शैक्षिक परामर्श केन्द्रको सञ्चालनमा नयाँ नियम र नीति ल्याउन प्रयत्नशील रहे पनि पुरानै निर्देशिकाले केन्द्रमा र एउटा प्रदेशले मात्र दर्ता र नियमन गरिरहेकोले देशभरका व्यवसायीलाई समेट्न नसकिएको बताए।

अध्यक्ष प्याकुरेलले प्रविधिको विकाससँगै एडटेक कम्पनीको उपस्थिति बढेको र सरकारले अनुपालनको दायरा बढाउनुका साथै कानुनी जटिलता समाधान गर्नुपर्नेमा जोड दिए। उनले सदस्य संस्थालाई गुणस्तरीय र पारदर्शी रूपमा सेवा प्रदान गर्न आग्रह गरे।
साधारणसभाको बन्द सत्रमा अध्यक्ष प्याकुरेलले वार्षिक प्रतिवेदन, महासचिव कृष्णप्रसाद कोइरालाले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सूर्य पोखरेलले वित्तीय प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा
११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला परामर्शदाताहरूलाई सम्मान पनि गरिएको थियो।

