सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जे अवस्थित यूनिटी सेकेण्डरी स्कूलले २३ औँ स्थापना दिवसको अवसरमा फागुन २४ गते अभिमुखीकरण कार्यक्रम-२०८१ सम्पन्न गरेको छ ।
शिक्षाकर्मी संजय खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि खड्काले विद्यालयले २३ औं बर्ष टेकिरहँदा शैक्षिक गुणस्तर र भौतिक संरचना लगायतमा निकै उपलब्धि प्राप्त गर्न सफल भएको बताए । उनले यूनिटी स्कुलको उत्कृष्ट व्यवस्थापन र नेतृत्वको पहलमा अभिभावकको साथले विद्यार्थीले २०८० को एसईई मा ४ जिपिए ल्याउन सफल भएको उल्लेख गर्दै यूनिटी स्कुल नै बालबालिकाको उज्ज्वल भविष्यको थलो भएकाले अभिभावकहरु अन्यन्त्र टाढा जानु नपर्ने बताए ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख वक्ता उत्प्रेरक विकास देव योन्जनले अभिभावक, विद्यालय र विद्यार्थी बिचको महत्वका बारे चर्चा गर्दै असल अभिभावकत्व के हो ? र कसरी निर्वाह गर्न सकिन्छ भन्ने बारे बताउँदै अभिभावकले बालबालिकाहरुलाई समय दिनु पर्ने, उनीहरुको व्यवहार र संगतमा पनि ध्यान दिनु पर्ने जस्ता विषयहरुमा प्रशिक्षण गरेका थिए ।
साथै CTF मन्टेस्वरी ट्रेनरले यूनिटी स्कुलमा मन्टेश्वरी तालिम प्रदान गर्दै आएको र विद्यालयमा मन्टेश्वरी पद्द्तिबाट शिक्षण कार्य सुरु गरिएको बताए। त्यसै गरी ४ जिपिए ल्याउन सफल उत्कृष्ट विद्यार्थी आशिष थापा क्षत्रीले ४ जिपिए प्राप्त गर्नमा विद्यालय र शिक्षकको प्रमुख भुमिका रहेको कुरा उल्लेख गर्दै विद्यालयमा विद्यार्थी मैत्री वातावरण नै आफू सफल हुन सक्नुको प्रमुख कारण रहेको बताए ।
यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले विद्यालय २३ औँ वर्षमा प्रवेश गर्न सफल भएकोमा सम्पुर्ण अभिभावक प्रति हार्दिक आभार प्रकट गर्दै विद्यालयले यस शैक्षिक सत्र २०८१ देखि विशेष रुपले शैक्षिक क्रियाकलापका साथै विविध अतिरिक्त क्रियाकलाप तथा कार्यक्रम सन्चालन गर्न सफल भएकोले गर्दा विद्यार्थीको सिकाई र व्यवहारिक ज्ञानमा वृद्धि भएको बताए ।
