नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरले विपन्न लक्षित छात्रवृत्ति वितरणसम्बन्धी निर्देशन जारी गरेको छ।
केन्द्रको समावेशी शिक्षा शाखाले सबै स्थानीय तहलाई पत्राचार गर्दै कक्षा ९ र ११ मा अध्ययनरत छात्रवृत्ति प्राप्त गर्न योग्य विद्यार्थीहरूका लागि छात्रवृत्ति रकम निकासा गर्न अनुरोध गरेको छ।
सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा PMT फाराम भरी मिति २०८० चैत ५ गते केन्द्रले नतिजा प्रकाशन गरेकोमा छनोट भएका विद्यार्थीका लागि शैक्षिक सत्र २०८१ मा कक्षा १० र १२ मा अध्ययनरत विद्यार्थीका लागि विपन्न लक्षित छात्रवृत्ति वितरण गर्न पत्राचार गरिसकिएको जनाएको छ।
शैक्षिक सत्र २०८० मा कक्षा ९ र ११ मा अध्ययनरत छनोट भएका विद्यार्थीका लागि छात्रवृति प्रदान गर्न नपुग भएका स्थानीय तहको हकमा छात्रवृत्ति वितरण गर्ने प्रयोजनका लागि जिल्ला अन्तर्गतको कोष तथा लेखा नियन्त्रकको कार्यालयमा बजेट शीर्षक ३५००११०१ मा LMBIS प्रविष्टि भइसकेको केन्द्रले जनाएको छ। अब, विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०६० अनुसार सम्बन्धित विद्यार्थीहरूको बैंक खातामा छात्रवृत्ति रकम निकासा गरिनेछ।
साथै सो छात्रवृत्ति सम्बन्धित विद्यार्थीलाई विपन्न लक्षित छात्रवृत्ति व्यवस्थापन मापदण्ड २०८० बमोजिम सम्बन्धित विद्यार्थीको बैंक खातामा रकम निकासाको व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
