प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरूलाई संविधानले सम्पत्तिको हक सुनिश्चित गरेकोले ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले पाँच वर्षभित्र निजी विद्यालयलाई गुठीमा लैजाने प्रस्ताव कसरी आयो भन्नेमा आश्चर्य व्यक्त गरे।
सरकारले सबै बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्न नसक्ने भएकाले यस कार्यमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनले बताए। “शिक्षा क्षेत्रमा लगानी गर्नुहोस्, कानुन अनुसार सम्पत्तिको हक प्रयोग गर्नुहोस्,” प्रधानमन्त्री ओलीले भने, “यो उद्योग होइन, अत्यधिक मुनाफा ननिकाल्नुहोस्। लगानी गरेर स्वदेशमै गुणस्तरीय शिक्षा दिनुहोस्, दक्ष र कुशल नागरिक उत्पादन गर्नुहोस्। लगानी गरेपछि कानुनले नाफा लिन पाइन्न भन्दैन। सेवा दिनुहोस् तर जोगी पनि नहुनुहोस्।”
उनले विद्यार्थीहरूलाई देशभक्ति, स्वाधीनता र वीरताको इतिहास सिकाउनुका साथै आत्मनिर्भर बन्न प्रेरित गर्न जोड दिए।
महाधिवेशनमा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न लगायतका सम्मानहरू पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा. विजय सम्बाहाम्फे लगायतलाई प्रदान गरेका थिए।