नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिले आगामी शैक्षिक सत्रको तयारीस्वरुप चैत्र १ र २ गते भक्तपुरको नगरकोटस्थित होटल मेरिगोल्डमा दुई दिने (पीएसटी) बैठक आयोजना गर्ने भएको छ।
बैठकमा काठमाडौं जिल्ला समिति तथा सातवटै नगर कमिटीका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको सहभागिता रहनेछ। बैठकमा आगामी शैक्षिक सत्रका लागि शैक्षिक क्यालेन्डर तयार पार्ने, पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्ने, विद्यालय प्रशासनलाई प्रभावकारी बनाउन आवश्यक रणनीति तय गर्ने लगायतका विषयमा विस्तृत छलफल हुनेछ।
नेशनल प्याब्सन काठमाडौं जिल्ला कार्यसमितिका पदाधिकारीहरूका अनुसार बैठकले निजी विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, संगठनात्मक सुदृढीकरण तथा नीति निर्माण प्रक्रियामा ठोस निर्णय लिने लक्ष्य राखेको छ। साथै, विद्यालयहरूले भोगिरहेका विभिन्न चुनौतीहरूको समाधानका उपायहरूबारे समेत गम्भीर समीक्षा हुनेछ।
बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ। बैठकबाट आउने निर्णयहरूले आगामी शैक्षिक सत्रलाई व्यवस्थित बनाउने तथा निजी विद्यालयहरूबीचको समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।