नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयका कक्षा ४ र ५ का विद्यार्थीहरूका लागि वक्तृत्वकला प्रतियोगिता फागुन २८ गते बुधबारका दिन सम्पन्न गरेको छ। चाँगुनारायण-८ स्थित पारिजात विद्याकुन्ज स्कूलमा सम्पन्न प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाए।
कक्षा ५ को “मोबाइल फोनको सदुपयोग” शीर्षकको प्रतियोगितामा रुबी भ्याली स्कूलका अभिक ढकाल प्रथम भए। डेमोस स्कुलकी उपेक्षा तामाङ दोस्रो र मदरल्याण्ड स्कूलकी अग्रता पोखरेल तेस्रो भए। ईडेन गार्डेनका रोबर्टसन भण्डारीले सान्त्वना पुरस्कार जिते।
कक्षा ४ को “स्वस्थ परिवार, सुखी समाज” विषयमा भएको प्रतियोगितामा यूनिटी स्कूलका हिमांशु भट्टले पहिलो स्थान हासिल गरे। डेमोसकी सलोनी तामाङ दोस्रो, रुबी भ्यालीका सृजन चौलागाईँ तेस्रो र ईडेन गार्डेनकी ब्रिश्रुती सापकोटाले सान्त्वना पुरस्कार प्राप्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा विकासमा सहयोग पुग्ने बताए। उनले प्याव्सनले आफ्ना सदस्य विद्यालयका विद्यार्थीहरूका लागि वार्षिक योजनाअनुसार विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको जानकारी दिए। विद्यार्थीलाई किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि संलग्न गराउनुपर्नेमा अध्यक्ष खड्काले जोड दिए।
