मध्यपुर थिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाडौँको प्राविधिक सहयोगमा “बालबालिकाको मुटु जोगाऔँ” भन्ने नाराका साथ बालबालिकाको मुटु परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. प्रमिला शाक्य र डा. उरुषा घुलुले करिब २०० जना बालबालिकाको मुटुको परीक्षण गरेका थिए।
कार्यक्रममा बोल्दै विनायक शिक्षा निकेतनका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बालबालिकामा मुटुरोग सम्बन्धी समस्या देखिएमा समयमै उपचार पाए निको हुने र बालबालिकाको मुटुलाई जोगाउन सकिने भएकाले यो कार्यक्रम आयोजना गरिएको बताए।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का महिला सदस्य अरुणा कारजितले विनायक शिक्षा निकेतनलाई धन्यवाद दिँदै स्थानीय बालबालिकाको मुटुसम्बन्धी रोग पत्ता लगाउन यो कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।
हृदयरोग निवारण प्रतिष्ठान, काठमाडौँका उपसभापति मधुसुदन कारजितले बालबालिकालाई मुटुसम्बन्धी समस्याबाट जोगाउन यस्ता कार्यक्रम महत्वपूर्ण भएकोले आफ्नो संस्थाले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए।

विनायक शिक्षा निकेतनले आयोजना गरेको यो कार्यक्रमले बालबालिकाको स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्याएको छ।