चाँगुनारायण नगरपालिका वडा नम्बर ६ स्थित क्वालिटी अंग्रेजी माध्यमिक विद्यालयले आफ्नो २६औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। भत्केपाटीस्थित ख्वप बैङ्क्वेटमा आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बालबालिकाको असल हेरचाहका लागि मनोबैज्ञानिक परामर्शदाता डा. रविन कटवालले ‘संस्कारसहितको शिक्षा’ विषयक अभिभावकीय शिक्षा प्रदान गरेका थिए, जसले अभिभावकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माइला’ले विद्यार्थीहरूलाई राष्ट्रप्रेमको भावना विकास गर्नुपर्नेमा जोड दिए। उनले गत वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए भने शिक्षिका अनिता थापालाई नियमित शिक्षक सम्मान प्रदान गरेका थिए।
कार्यक्रममा नेशनल प्याब्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने, वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, महासचिव प्रकाशचन्द्र खड्का, काठमाडौँका अध्यक्ष अमृत खड्का, भक्तपुरका अध्यक्ष सञ्जय खड्कालगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा एसईई २०८० का विद्यार्थीहरूलाई सम्मान तथा प्रगतिको कामना गरिएको थियो। विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए, जसमा नृत्य र गायनहरू समावेश थिए।
