साइनिङ इङ्गलिस सेकेन्डरी स्कूलको ३२ औं वार्षिकोत्सव, शिक्षक सम्मान तथा पुरस्कार वितरण कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएको छ।
कार्यक्रममा सांसद सुवालले एसईई २०८० उत्तीर्ण विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्नुका साथै विद्यालयको स्मारिका विमोचन गर्दै उनले शिक्षकहरूलाई तालिम दिनुपर्ने, अभिभावक अभिमुखीकरण गर्नुपर्ने र नयाँ पुस्ता हुर्काउन अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रममा चाँगुनारायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष श्यामसुन्दर धिमालले शिक्षामा बढ्दो खाडललाई पुर्नुपर्नेमा जोड दिए।
नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउँदै अभिभावक अभिमुखीकरण गरेका थिए।
वरिष्ठ हास्य कलाकार जितु नेपालले अभिभावकले बालबालिकालाई घरेलु पौष्टिक खानेकुरा खुवाउनुपर्ने र सामाजिक सञ्जालमा कम समय बिताई बालबालिकालाई बढी समय दिनुपर्ने कुरामा जोड दिए।
चाँगुनारायण नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष रोजबहादुर तामाङ, संरचना नेपालका संस्थापक अध्यक्ष डा. हरिप्रसाद श्रेष्ठ, हात्तीवन सामाजिक सेवा केन्द्रका अध्यक्ष प्रमि श्रेष्ठलगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालय सञ्चालक विक्रम धकुले विद्यालयले युग सुहाउँदो शिक्षा दिइरहेको बताए।

विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोंजुको सभापतित्वमा भएको थियो।

कार्यक्रममा विद्यालयले उत्कृष्ट अभिभावक र शिक्षकहरूलाई कदरपत्रद्वारा सम्मान गरेको थियो। कार्यक्रम शिक्षिका सर्मिला ख्यामलीले संचालन थिए।


