भक्तपुरको पारिजात विद्याकुञ्जले विद्यार्थी, शिक्षक र अभिभावकलाई एकसाथ सम्मान गरेको छ । विद्यालयको शिक्षालाई गुणस्तरीय भूमिका निर्वाह गर्ने मुख्य खम्बाका रुपमा रहेका विद्यार्थी, अभिभावक र शिक्षकलाई विद्यालयले एकसाथ सम्मान गरेको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको रातोपाटीस्थित उक्त विद्यालयले अभिभावक अभिमुखिकरण, विद्यार्थी सम्मान पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी विद्यालयका महत्वपूर्ण पक्षलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल विक्रम थापाले बताए ।
‘विद्यालयको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको अन्तरसम्बन्ध रहन्छ, त्यही कुरालाई मनन् गरी हामीले सम्मान कार्यक्रम आयोजना गरेका हौं’, उनले भने ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी भई सफलता हासिल गर्न सफल २३ विद्यार्थीलाई अभिभावककै उपस्थितिमा सम्मान गरिएको थियो । आफ्नो अभिभावककै उपस्थितिमा सम्मानित हुन पाउँदा विद्यार्थी दंग परेका थिए भने आफ्नो सन्तानको सफलताको साक्षी हुन पाउँदा अभिभावक फुरुङ्ग भएका थिए ।
सम्मानित हुनेहरुमा एसईई २०८० मा सहभागी भएका विद्यार्थी, कक्षा १ देखि १० सम्मका उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी, खेल सप्ताहका विजयी विद्यार्थी र बाह्य अतिरिक्त क्रियाकलापमा सहभागी विजयी विद्यार्थीहरु रहेका छन् ।

कार्यक्रममा विद्यालयमा कार्यरत २१ शिक्षक र ४ कर्मचारीलाई पनि सम्मान गरिएको थियो । उनीहरुलाई विद्यालयका प्रिन्सिपल थापा, नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, जागृति स्कुलका प्रिन्सिपल जगदिश पौडेल, आराधना ज्ञानकुञ्जका सञ्चालक साधु राम गैडा, पूर्व विव्यस अध्यक्ष महेन्द्र बहादुर खत्रीलगायतले सम्मान तथा पुरस्कृत गरेका थिए ।
सोही कार्यक्रममा असल अभिभावकत्वबारे अभिमुखिकरण समेत गरिएको थियो । अभिमुखिकरणका उत्प्रेरक विकासदेव योञ्जनले सहजीकरण गर्दै विद्यार्थीको भविष्य र चरित्र निर्माणमा अभिभावकको दायित्व महत्वपूर्ण हुने भएकाले विद्यार्थीका लागि अभिभावक नै मोडल हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष खड्काले पारिजात विद्याकुञ्जले शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उल्लेख गर्दै अभिभावकहरुलाई आफ्नै ठाउँको विद्यालय रोज्न उत्प्रेरित गरेका थिए । सांस्कृृतिक कार्यक्रमको क्रममा विद्यार्थीहरुले विभिन्न गीतसंगीतमा नृत्य, गायनका साथ आफूसँग भएको प्रतिभा प्रस्तुत गरेका थिए ।


