नागरिक लगानी कोषले आफ्नो ३५ औं वार्षिकोत्सव सोमबार सम्पन्न गरेको छ। कार्यक्रममा कोषले चालू आर्थिक वर्षको पुस मसान्तसम्म २ खर्ब ६४ अर्ब ७८ करोड रुपैयाँ लगानी गरेको जानकारी दिएको छ। सोही अवधिमा २ खर्ब ७३ अर्ब ७२ करोड रुपैयाँ वित्तीय स्रोत संकलन गर्न कोष सफल भएको छ।
अर्थसचिव घनश्याम उपाध्यायले कोषले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउन उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए। उनले कोषले आम नागरिकलाई कसरी कोषमा आबद्ध गराउने र सामाजिक सुरक्षाको क्षेत्रमा थप कार्य गर्नुपर्ने बताए। कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा. सूर्यबहादुर थापाले आगामी दिनमा मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्याउन कृषि, पूर्वाधार, उत्पादनमूलक क्षेत्र, उद्योग, पर्यटनलगायत क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको लगानी रोजगारी सिर्जना गर्ने र पूर्वाधार बढाउने कुराहरुमा केन्द्रित गर्नुपर्ने बताए। कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले लगानी विविधीकरणमा सघाउ पुग्ने गरी कर्जा नीति र लगानी नीतिमा परिमार्जन गरेको र सरकारी प्राथमिकताका पूर्वाधार निर्माण, कृषि, उद्योग, पर्यटन तथा उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने बताए।
२०४७ सालमा स्थापना भएको नागरिक लगानी कोषको चुक्ता पुँजी हाल ६ अर्ब ४८ करोड पुगेको छ। कोषको पूर्वअध्यक्ष डा. भोजराज घिमिरेले कोषले २ खर्ब ७३ अर्ब रुपैयाँको फण्ड सञ्चालन गर्नु ठूलो उपलब्धि भएको बताए। नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेल र नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्र विक्रम थापाले कोषसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गर्न कोष व्यवस्थापन र नेपाल सरकारसँग आग्रह गरेका थिए।
