प्रा.डा. अच्युतप्रसाद वाग्ले काठमाडौँ विश्वविद्यालयको नयाँ उपकुलपति नियुक्त भएका छन्। प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार वाग्लेलाई नियुक्त गरेका हुन्।
विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि गठित खोज तथा सिफारिस समितिले डा. वाग्लेसहित तीन जनाको नाम सिफारिस गरेको थियो। डा. सुरेशराज शर्मा, डा. अर्जुन कार्की र जनार्दन नेपाल रहेको समितिले सिफारिस गरेका नामहरूमध्येबाट प्रधानमन्त्री ओलीले वाग्लेलाई नियुक्त गरेका हुन्। निवर्तमान उपकुलपति डा. भोला थापाको कार्यकाल गत माघ ६ गते सकिएको थियो।
काभ्रेपलान्चोकको बनेपा नगरपालिकामा २०२५ सालमा जन्मिएका प्राडा. वाग्ले काठमाडौँ विश्वविद्यालयका कार्यवाहक उपकुलपति एवं रजिस्ट्रार थिए। उनले विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टको सहायक डीन र विज्ञान विभागको प्रमुखको रूपमा पनि काम गरिसकेका छन्।
अर्थशास्त्रमा विज्ञ प्राडा. वाग्लेले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, कानपुरबाट विद्यावारिधि गरेका छन्। उनले बेलायतको ब्रिमिङ्घम विश्वविद्यालयबाट एमएस्सी र त्रिभुवन विश्वविद्यालयबाट एमए उत्तीर्ण गरेका छन्।
उनले व्यवसाय, वातावरण, क्षेत्रीय अर्थतन्त्र, वित्तीय सङ्घीयता र उद्यमशीलता लगायतका विषयमा अनुसन्धान गर्दै आएका छन्। उनले प्रधानमन्त्रीको प्रेस सल्लाहकार र नेपाल राष्ट्र बैँकका गभर्नरको सल्लाहकारका रुपमा पनि काम गरिसकेका छन्। उपकुलपतिको कार्यकाल चार वर्षको हुनेछ।
