ताजा अपडेट

ट्रेन्डिङ

आगामी वर्षको बजेटमा शिक्षा मन्त्रालयको छलफल सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बुध, चैत्र ६, २०८१
6619 पटक हेरिएको
आगामी वर्षको बजेटमा शिक्षा मन्त्रालयको छलफल सम्पन्न

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च व्यवस्थापन समूह (एसएमटी) बैठक मन्त्री विद्या भट्टराईको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम र बजेटबारे गहन छलफल भएको छ।

मन्त्री भट्टराईले संविधान, योजना र कानून अनुसार कार्यक्रम प्रस्ताव गर्न, लक्ष्य समयमै हासिल गर्न र समस्या समाधानमा गम्भीर हुन आग्रह गरिन्। उनले निर्णय कार्यान्वयनको स्वचालित प्रणाली, विज्ञान-प्रविधिमैत्री शिक्षा र नैतिकवान नागरिक उत्पादनमा जोड दिइन्।

बजेट मागमा आधारित हुनुपर्ने र कार्यक्रमको औचित्य, उपलब्धि र दीर्घकालीन प्रभाव स्पष्ट हुनुपर्ने उनको भनाइ थियो। उनले कार्यदलका सुझाव कार्यान्वयन र नयाँ शैक्षिक सत्र प्रभावकारी बनाउन पनि निर्देशन दिइन्।

योजना महाशाखा प्रमुखले बजेट सीमा जानकारी गराए। सचिवद्वयले सुझाव कार्यक्रममा समावेश गर्न, बजेट स्पष्ट बनाउन र पूर्व तयारीमा जोड दिए। डिजिटल सेवा, लक्ष्य कार्यान्वयन र कार्यसम्पादन मूल्याङ्कनमा ध्यान दिन सुझाव दिनुका साथै शोधभर्ना, लेखा परीक्षण र कार्यदल प्रतिवेदन कार्यान्वयनमा पनि निर्देशन दिएको छ।

निकाय प्रमुखहरूले प्रगति र सुझाव प्रस्तुत गरे। मन्त्रालयले १५ दिनभित्र कार्ययोजना प्राप्त गरी बजेटलाई अन्तिम रूप दिने तयारी गरेको छ। बैठकले आगामी बजेटलाई समयसापेक्ष र जनमुखी बनाउन योगदान पुर्‍याउने विश्वास लिइएको छ।