ताजा अपडेट

ट्रेन्डिङ

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालद्वारा राजीनामा

Gyan Khabar

ज्ञानखबर

आइत, चैत्र १७, २०८१
810 पटक हेरिएको
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. बरालद्वारा राजीनामा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो बिरामी अवस्थालाई कारण देखाउँदै शनिबार विश्वविद्यालय समक्ष राजीनामा पत्र बुझाएका हुन्।

प्रा.डा. बराललाई २०८० फागुन १० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका थिए। तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि उनले सरकारबाट आफूलाई असहयोग भएको गुनासो गर्दै आएका थिए।

स्रोतका अनुसार, उपकुलपति बरालले विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेपप्रति पनि असन्तुष्टि जनाउँदै आएका थिए। राजनीतिक हस्तक्षेपका कारण विश्वविद्यालयको शैक्षिक वातावरणमा नकारात्मक असर परेको उनको भनाइ थियो।

उपप्राध्यापकको रूपमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसबाट आफ्नो शिक्षण करियर सुरु गरेका प्रा.डा. बराल यसअघि २०६४ सालमा पोखरा विश्वविद्यालयको उपकुलपतिसमेत भइसकेका थिए। लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका बरालले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका हुन्।

उनको राजीनामासँगै त्रिभुवन विश्वविद्यालयको उपकुलपति पद रिक्त भएको छ र अब नयाँ उपकुलपतिको नियुक्ति प्रक्रिया अगाडि बढ्ने अनुमान गरिएको छ।