औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाले भव्यताका साथ आफ्नो चौथो साधारणसभा तथा वनभोज कार्यक्रम चैत्र १६ गते शनिबार सम्पन्न गरेको छ। मध्यपुर थिमिस्थित रमणीय निलबाराहीस्थान बोदेमा शनिबार आयोजित कार्यक्रममा जिल्लाका औषधि व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको उद्घाटन गर्दै औषधी व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष ध्रुबनारायण श्रेष्ठले व्यवसायीहरूको हकहितका लागि संघले निरन्तर रूपमा विभिन्न जिल्लामा कार्यक्रमहरू आयोजना गर्दै आएको जानकारी गराए। उनले व्यवसायीहरूलाई आवश्यक तालिम लगायतका सहयोगका लागि संघ सधैँ तयार रहेको बताए। “तपाईंहरूलाई पनि केही तालिमको आवश्यकता भए माग गर्न सक्नुहुनेछ,” अध्यक्ष श्रेष्ठले भने।
उक्त अवसरमा बागमती प्रदेश अध्यक्ष ध्रुबनारायण श्रेष्ठ, महासचिव राजु श्रेष्ठ, काठमाडौंका अध्यक्ष शंकर महर्जन, ललितपुरका अध्यक्ष इन्द्रवीर महर्जन, काभ्रेका अध्यक्ष श्याम तिमिल्सना, रामेछाप दोलखाका सदस्य मदन भौकाजी लगायतका विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उनीहरूले व्यवसायी एकता र साझा हितका लागि हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए।
कार्यक्रमका संयोजक एवं जिल्लाका वरिष्ठ उपाध्यक्ष विनोदप्रसाद सापकोटाले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए। कार्यक्रमको आकर्षक सञ्चालन मुरारी नेपालले गरेका थिए।
जिल्ला सभापति नारायणप्रसाद भुसालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संघको वार्षिक गतिविधि र भावी योजनाबारे छलफल भएको थियो। सोही अवसरमा उपस्थित अतिथिहरूले संयुक्त रूपमा संघको नयाँ क्यालेण्डर विमोचन गरेका थिए।
संस्थाका सचिव कपिल कसपालका अनुसार हालसम्म भक्तपुर जिल्लाका करिब १६० जना औषधि व्यवसायी संघमा आबद्ध भएका छन्। यद्यपि, जिल्लामा करिब ६०० औषधि व्यवसायी रहेको अनुमान गरिएको छ। कार्यक्रममा बाँकी व्यवसायीहरूलाई पनि संघमा आबद्ध हुन आह्वान गरिएको थियो।
समग्रमा, औषधी व्यवसायी संघ भक्तपुर जिल्ला शाखाको चौथो साधारणसभा तथा वनभोज कार्यक्रम व्यवसायीहरूबीच आपसी सम्बन्ध सुदृढ पार्न र साझा मुद्दाहरूमा छलफल गर्न महत्वपूर्ण सावित भएको छ। रमणीय वातावरणमा सम्पन्न भएको वनभोज कार्यक्रमले सहभागीहरूलाई स्फूर्ति प्रदान गरेको थियो।