मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले अन्तरनगरपालिका स्तरीय जिम्न्यास्टिक प्रतियोगितामा छनोट भएका आफ्ना विद्यार्थीहरूलाई भव्य विदाई कार्यक्रम आयोजना गरेको छ। यही २०८१ चैत्र २० गते विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा चैत्र २३ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो।
मध्यपुर ठिमी नगरपालिकाबाट प्रतिनिधित्व गर्दै पाँच जना र सूर्यविनायक नगरपालिकाबाट दुई जना गरी कुल सात जना विद्यार्थी यस प्रतिष्ठित प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। उनीहरूलाई प्रशिक्षण दिने प्रशिक्षक सहित आठ जनाको टोलीलाई विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले खादा ओढाएर मायाको चिनो प्रदान गरे। प्रिन्सिपल प्रजापतिले विद्यार्थीहरूलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्दै उनीहरूको खेल जीवनमा निरन्तर प्रगति होस् भन्ने कामना गरे।
विदाई कार्यक्रममा विद्यालयका जिम्न्याष्टिक प्रशिक्षक विजेन्द्र श्रेष्ठ र प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीहरू सुमन तामाङ, प्रकृति थापा मगर, आर्या रन्जितकार, समीक्षा श्रेष्ठ, विज्ञता श्रेष्ठ, नेहा प्रजापति र सेज श्रेष्ठको उपस्थिति रहेको थियो। प्रिन्सिपल प्रजापतिले सम्पूर्ण टोलीलाई विजयको लागि अग्रिम शुभकामना व्यक्त गर्दै विनायक शिक्षा निकेतनले खेलकुद क्षेत्रमा पनि आफ्नो उत्कृष्टता कायम राख्ने विश्वास व्यक्त गरे।
यस विदाई कार्यक्रमले विद्यार्थीहरूलाई थप उत्साहित बनाएको छ र उनीहरू आगामी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने दृढ संकल्पका साथ मैदानमा उत्रने छन्। विनायक शिक्षा निकेतनले आफ्ना विद्यार्थीहरूको शैक्षिक विकासका साथसाथै शारीरिक र खेलकुद विकासमा पनि निरन्तर ध्यान दिँदै आएको छ भन्ने यो कार्यक्रम एक ज्वलन्त उदाहरण हो।