ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा निर्जीवन बीमासम्बन्धी सचेतना एवं अभिमुखीकरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

बिहि, चैत्र २१, २०८१
661 पटक हेरिएको
भक्तपुरमा निर्जीवन बीमासम्बन्धी सचेतना एवं अभिमुखीकरण सम्पन्न

भक्तपुर जिल्लाका उद्योगी, व्यवसायीहरुलाई निर्जीवन बीमासम्बन्धी जानकारी गराउने उद्देश्यले बुधबार सचेतना एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनी लि.को संयुक्त आयोजनामा सूर्यविनायक नगरपालिकास्थित होटल घ्याम्पेडाँडामा निर्जीवन बिमासम्बन्धी सचेतना एवं अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा संघकी अध्यक्ष रोशनीमैयाँ धौबन्जाले उद्योगी, व्यवसायीहरु बीमाको विषयमा जानकार हुनुपर्ने आवश्यकता औल्याउँदै उद्योग, व्यवसायमा हुने आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा अपरिहार्य रहेको बताइन् । प्राकृतिक प्रकोप वा अन्य कुनै भवितव्यबाट उद्योग, व्यवसायमा हुनसक्ने जोखिमबाट बच्न बीमा सबैले गर्नुपर्ने उनको भनाइ छ ।

gk ins 01

शिखर इन्स्योरेन्स कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बीमालाई औपचारिकता मात्र नबनाई आवश्यकता बनाउनुपर्नेमा जोड दिए । उनले बीमा दुःख पर्दाको साथी रहेको भन्दै बीमा जोखिम न्यूनीकरणका लागि अनिवार्य आवश्यकता रहेको बताए । धेरैजसोको मानसिकता निर्जीवन बीमा भुक्तानी पाउन झन्झटिलो छ भन्ने रहेकोले प्रक्रियागत भएमा बीमा दाबी भुक्तानी पाउन गाह्रो छैन भन्ने विश्वास दिलाउने गरी आफूहरुले काम गरिरहेको जानकारी दिए ।

कार्यक्रममा शिखर इन्स्योरेन्सका महाप्रबन्धक उदितप्रसाद काफ्लेले निर्जीवन बिमाको विषयमा प्रस्तुतीकरण गरेका थिए । उनले बीमा गर्दा पूरा गर्नुपर्ने प्रक्रिया, बीमाका प्रकार, बीमाले रक्षावरण गर्ने क्षेत्र, बीमा दाबी पुग्ने तथा नपुग्ने अवस्था, सम्पत्ति बीमामा विशेष नीति, विदेश यात्रा मेडिकल बीमा, सवारी साधन बीमा लगायतका विषयमा जानकारी गराएका थिए ।

निर्जीवन बीमा अभिमुखीकरण सम्पन्न

यसैगरी, शिखर इन्स्योरेन्सका नायव महाप्रबन्धक सुरज राजवाहकले शिखर इन्स्योरेन्स कम्पनी लि.को इतिहास, कम्पनीले दिइरहेका सेवा, हालसम्म कम्पनीले बीमा बापत भुक्तानी गरेको रकमलगायतका बारेमा जानकारी दिए । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपाने, महासचिव नविन प्रजापतिले बीमाको महत्वबारे प्रकाश पारे । कार्यक्रममा जिल्लाका १२० जना उद्योगी, व्यवसायीहरु सहभागी भएका थिए ।

यसैबीच, भक्तपुर उद्योग वाणिज्य संघ र शिखर इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा भक्तपुर उद्योग वाणिज्य सघको तर्फबाट अध्यक्ष धौबन्जा र शिखर इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पाण्डेले हस्ताक्षर गरे । संघका वरिष्ठ उपाध्यक्ष न्यौपाने, महासचिव प्रजापति र शिखर इन्स्योरेन्स कम्पनी लि.का नायव महाप्रबन्धक राजवाहकको रोहवरमा सम्झौता गरिएको हो ।