ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा भव्यताका साथ अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सुरु

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र २३, २०८१
791 पटक हेरिएको
भक्तपुरमा भव्यताका साथ अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सुरु

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले आज भक्तपुर नगरपालिकाद्वारा आयोजित तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको भव्य उद्घाटन गर्नुभएको छ। शहीद स्मृति खेलमैदानमा आयोजित एक विशेष समारोहमा पानसमा दीप प्रज्ज्वलन गरी प्रतियोगिताको शुभारम्भ गरिएको थियो।

सोही अवसरमा अध्यक्ष बिजुक्छेंले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’ को लोकार्पण पनि गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिजुक्छेंले प्रतियोगिताको पूर्ण सफलताको कामना गर्नुभयो। उहाँले जिम्नास्टिक खेल शारीरिक अभ्यास र जोखिमपूर्ण भए पनि खेलाडीहरूलाई सुरक्षित रूपमा खेल्न आग्रह गर्नुभयो।

नाचगान र शारीरिक अभ्यासले शरीरलाई चलायमान बनाउनुका साथै स्फूर्ति प्रदान गर्ने उल्लेख गर्दै उहाँले खेलकुद व्यक्तिगत स्वास्थ्य र राष्ट्रलाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। खेलाडीहरूलाई अनुशासित भएर आफ्नो कला प्रस्तुत गर्न आग्रह गर्दै उहाँले सरकारले खेलाडीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले युवा र विद्यार्थीलाई खेलकुदमा सहभागी गराउन सधैं प्रोत्साहन गर्दै आएको बताउनुभयो।

विद्यालयहरूमा खेलकुद प्रशिक्षकको व्यवस्था गर्नु त्यसैको निरन्तरता भएको उहाँको भनाई थियो। नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र अनुसार प्रत्येक वर्ष अन्तर नगर र अन्तर विद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्ने लक्ष्य नगरपालिकाले लिएको र सोही अनुसार काम भइरहेको उहाँले जानकारी दिनुभयो। सबै नगरवासीलाई स्वस्थ राख्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गर्ने उद्देश्यले नगरपालिकाले खेलकुद प्रतियोगिता र प्रशिक्षणहरू सञ्चालन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जिम्नास्टिक खेल जगतकै महत्वपूर्ण खेल भएको बताउँदै विद्यार्थीहरूको बौद्धिक विकाससँगै शारीरिक र मानसिक विकासका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो। भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तर नगर खेलकुद प्रतियोगिताले विभिन्न नगरपालिकाबीच सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्माले भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन पाउँदा खुसी व्यक्त गर्दै १८ वटा महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको सहभागिताले प्रतियोगितालाई राष्ट्रिय स्वरूप दिएको बताउनुभयो।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिता सफल बनाउन सबैको सहयोगको अपेक्षा राख्दै खेलकुदको महत्वमाथि प्रकाश पार्नुभयो। भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले खेलाडीहरूलाई अनुशासन र मित्रता कायम राख्न आग्रह गर्दै शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राई र भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि शुभकामना तथा धन्यवाद ज्ञापन मन्तव्य राख्नुभएको थियो।

FB IMG 1743832089963

प्रतियोगिताको उद्घाटन अघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्‍यालीसहित नगरपरिक्रमा गरी शहीद स्मृति खेलमैदानमा पुगेर सभामा परिणत भएको थियो। र्‍यालीमा जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, स्वयंसेवक, खेलाडी र विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

FB IMG 1743832104524

अन्तर नगर जिम्नास्टिक प्रतियोगिता अन्तर्गत पहिलो खेल आज दिउँसो २ बजेबाट शहीद स्मृति खेलमैदानमा सुरु हुने आयोजकले जनाएको छ। तीन दिनसम्म चल्ने यो प्रतियोगिताले भक्तपुरमा खेलकुदको माहोललाई थप उल्लासमय बनाउने अपेक्षा गरिएको छ।

FB IMG 1743832087100

FB IMG 1743832108826

FB IMG 1743832078993