किकम्पा मन्टेसरी (प्रि-स्कुल) द्वारा आयोजित किकम्पा स्पोर्ट्स मीट २०८१ सम्पन्न भएको छ। चैत्र २६ गते मंगलबार आयोजित कार्यक्रममा विभिन्न खेल विधाका विजेता विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रमका विशेष अतिथि, टेबुलटेनिस प्रशिक्षक एवं विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक इन्द्र भक्त पंचले खेलकूद जीवनको अभिन्न अंग भएको बताउँदै आन्तरिक खेलकूद प्रतियोगितासँगै अन्य विद्यालयहरूलाई पनि आमन्त्रण गरी बृहत् खेलकूद आयोजना गर्नुपर्नेमा जोड दिए। यस्ता कार्यक्रमले विद्यार्थीहरूको क्षमता अभिवृद्धि हुनुका साथै विद्यालयहरूबीचको सम्बन्ध थप प्रगाढ हुने उनको भनाइ थियो।
कार्यक्रमका सभापति एवं विद्यालयका प्रिन्सिपल राजेश लाखाले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासका लागि विद्यालयले समय-समयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न खेलकूद प्रतियोगिताहरू आयोजना गर्दै आएको जानकारी गराए। उनले खेलकूदमा सक्रिय विद्यार्थीहरू पढाइमा पनि अब्बल र अनुशासित हुने तथ्य प्रस्तुत गर्नुभयो। खेलकूदले विद्यार्थीहरूमा अनुशासन र आत्मविश्वास बढाउने कुरामा उहाँले जोड दिए।
विद्यालयले हरेक शुक्रबार विभिन्न खेलकूद गतिविधि सञ्चालन गर्दै आइरहेको र आगामी नयाँ शैक्षिक सत्र २०८२ देखि “Every Friday Fun Day” भन्ने नारालाई कार्यान्वयनमा ल्याइने जानकारी प्रिन्सिपल लाखाले दिए।
उक्त कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा शिक्षक-शिक्षिकालाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा एकेडेमिक इन्चार्ज इन्दिरा आचार्य, ईसीए इन्चार्ज बिन्द्रा पञ्च र शिक्षिका जमुना ब्यान्जूले पनि आफ्ना विचार राखेका थिए।


#KikampaMontessori #Kikampa #GyanKhabar