भक्तपुर राममन्दिरस्थित मिनर्वा इङ्गलिस स्कुलले आज भव्य अभिभावक दिवस तथा प्रि डिप्लोमा दिक्षान्त समारोह सम्पन्न गरेको छ।
अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयले आफ्ना ९१ जना बालबालिकाहरूलाई प्रि डिप्लोमाको प्रमाणपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक यात्राको एक महत्वपूर्ण खुड्किलो पार गरेको खुशियाली मनाएको छ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा मिनर्वा इङ्गलिस स्कुलका इन्चार्ज तथा गणित शिक्षक राजु किसिजुले कार्यक्रममा उपस्थित सम्पूर्ण अभिभावकहरूलाई स्वागत गर्दै विद्यालयलाई पुर्याउनुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गरे। साथै, उनले विद्यालयमा हालसम्म भएका प्रगति र आगामी दिनहरूमा सञ्चालन हुने विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूबारे जानकारी गराए।
कार्यक्रमको विशेष आकर्षणको रूपमा चाइनिज विश्वविद्यालय सिङच्याङ हङ्कङ चाइनाका प्रतिनिधि याङ्बोपोले आफ्नो मन्तव्य राख्दै मिनर्वा स्कुलमा बिताएका आफ्ना अविस्मरणीय पलहरू र अनुभवहरू साझा गरे। याङ्बोपोले विद्यालयमा रहँदा विद्यार्थीहरूलाई चिनियाँ भाषा र कलासंस्कृतिको ज्ञान प्रदान गरेको स्मरण गर्दै विद्यालयको शैक्षिक वातावरणको प्रशंसा गरे।
त्यस्तै, कार्यक्रममा उपस्थित बालबालिकालाई उत्प्रेरणा प्रदान गर्न अभिप्रेरक रमन नेपालले बालबालिकाको अगाडि सधैँ हाँसीखुसी प्रस्तुत हुनुपर्ने र उनीहरूलाई निरन्तर प्रेरणा प्रदान गर्नुपर्ने कुरामा जोड दिए।
अभिभावक अभिमुखीकरण र प्रेरणादायी मन्तव्यपछि विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा वर्षभरि भएका अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई विद्यालयले पुरस्कृत गरेको थियो।
कार्यक्रमको मुख्य भाग अर्थात् दिक्षान्त समारोहमा कक्षा एस.के.जी.का ९१ जना विद्यार्थीहरूलाई प्रि डिप्लोमाको प्रमाणपत्र प्रदान गरी दीक्षित गरियो। दीक्षित भएका विद्यार्थीहरू खुसीले गद्गद देखिन्थे।
विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवालले आफ्नो समापन मन्तव्य राख्दै विद्यालयलाई निरन्तर सहयोग गर्ने अभिभावकहरूलाई धन्यवाद ज्ञापन गरे। साथै, उहाँले नयाँ वर्ष २०८२ र आउँदै गरेको ऐतिहासिक बिस्केट जात्राको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे।
मिनर्वा जुनियरको अभिभावक दिवस तथा दिक्षान्त समारोहले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ। बालबालिकाको शैक्षिक यात्राको यो महत्वपूर्ण क्षण सबैका लागि स्मरणीय बनेको छ।