ताजा अपडेट

ट्रेन्डिङ

राष्ट्रिय परीक्षा बोर्डको अपिल: शिक्षकहरूलाई परीक्षामा सहयोग गर्न आग्रह

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र ३०, २०८१
2503 पटक हेरिएको
राष्ट्रिय परीक्षा बोर्डको अपिल: शिक्षकहरूलाई परीक्षामा सहयोग गर्न आग्रह

राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई विद्यार्थीहरूको भविष्यप्रति संवेदनशील बन्दै परीक्षा र उत्तरपुस्तिका परीक्षण कार्यमा सहभागी हुन हार्दिक अपिल गरेको छ। बोर्डले शिक्षकहरूको आन्दोलनका कारण कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा अवरोध उत्पन्न भएको र यही कारण वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को अन्तिम परीक्षा पनि प्रभावित हुने देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

बोर्डद्वारा जारी गरिएको अपिलमा भनिएको छ, “एसईई दिइसकेका विद्यार्थीहरू समयमै नतिजा प्राप्त गर्ने आशामा छन्। नतिजा प्रकाशनमा हुने एक दिनको ढिलाइले पनि उनीहरूको जीवनका महत्वपूर्ण अवसरहरू गुम्न सक्छन्। उत्तरपुस्तिका परीक्षण जस्तो संवेदनशील कार्य विज्ञ शिक्षकहरूबाट मात्र सम्भव छ। यसका लागि राष्ट्रिय परीक्षा बोर्ड शिक्षकहरूकै राय र सुझावलाई मध्यनजर गर्दै नतिजा प्रकाशनको कार्यतालिकासहित योजना बनाएर काम गरिरहेको छ।”

त्यसैगरी, कक्षा १२ को परीक्षाको महत्वलाई औंल्याउँदै बोर्डले भनेको छ, “कक्षा १२ का विद्यार्थीहरू उत्सुकतापूर्वक परीक्षाको प्रतीक्षा गरिरहेका छन्। उत्तरपुस्तिका परीक्षण र परीक्षा व्यवस्थापनमा शिक्षकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उत्तरपुस्तिका परीक्षणमा हुने ढिलाइले विद्यार्थीहरूले नतिजापछि प्राप्त गर्ने अवसरहरूमा प्रत्यक्ष नकारात्मक असर पार्ने कुरामा प्रबुद्ध शिक्षक वर्ग जानकार नै हुनुहुन्छ।”

शिक्षकहरूको हक र अधिकार सुनिश्चित गर्ने विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन्। महासंघले वैशाख २५ गतेदेखि उत्तरपुस्तिका परीक्षण लगायत सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेर शैक्षिक हड्तालको घोषणा गरेको छ।

यस्तो विषम परिस्थितिमा राष्ट्रिय परीक्षा बोर्डले शिक्षकहरूलाई विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राख्दै आफ्नो आन्दोलनका कार्यक्रमलाई पुनर्विचार गर्न र परीक्षा तथा उत्तरपुस्तिका परीक्षण कार्यमा सहयोग पुर्‍याउन आग्रह गरेको छ। बोर्डले शिक्षकहरूका जायज मागहरूलाई सम्बन्धित निकायसम्म पुर्‍याउन र समस्याको समाधानका लागि सहकार्य गर्न तयार रहेको पनि जनाएको छ। विद्यार्थीहरूको भविष्य अन्योलमा पर्दै गएकोले समयमै परीक्षा सम्पन्न गर्न र नतिजा प्रकाशन गर्न शिक्षकहरूको सहयोग अपरिहार्य रहेको बोर्डको ठहर छ।

FB IMG 1744434707978