ताजा अपडेट

ट्रेन्डिङ

भक्तपुरमा भव्य शिक्षक दिवस तथा सेवा निवृत्त शिक्षक सम्मान समारोह सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शनि, चैत्र ३०, २०८१
1930 पटक हेरिएको
भक्तपुरमा भव्य शिक्षक दिवस तथा सेवा निवृत्त शिक्षक सम्मान समारोह सम्पन्न

सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा समिति, भक्तपुरको आयोजनामा बासु माध्यमिक विद्यालय, कालिघाटमा आज भव्य शिक्षक दिवस तथा सेवा निवृत्त शिक्षक सम्मान समारोह सम्पन्न भएको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नारायणमान बिजुक्छेले शिक्षकहरू सधैं सक्रिय र नयाँ कुरा विद्यार्थीहरूलाई दिन तयार रहनुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षाको महत्व र शिक्षकको भूमिकालाई उच्च मूल्याङ्कन गर्दै उनीहरूको लगनशीलताको प्रशंसा गर्नुभयो।

कार्यक्रमका विशेष अतिथि, माननीय संघीय सांसद तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले वर्तमान पुँजीवादी चरित्र बोकेकाहरूले सरकार चलाएसम्म शिक्षकहरूको उचित सम्मान हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। उहाँले शिक्षा क्षेत्रमा राज्यको लगानी बढाउनुपर्ने र शिक्षकहरूको हकहितका लागि निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो।

नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अहिलेको शैक्षिक हडताल र आन्दोलनले कतै निजी विद्यालयलाई पोष्ने त होइन भन्ने आशंका व्यक्त गर्नुभयो। उहाँले शिक्षकहरूलाई एकजुट भएर आफ्ना मागहरूलाई सशक्त रूपमा उठाउन आग्रह गर्नुभयो।

कार्यक्रममा बासु माविका प्रधानाध्यापक रविलाल प्रधान, सेवा निवृत्त शिक्षकहरू कृष्णप्रसाद धन्छा, राजाराम छुकाँ र संयुक्त परीक्षा समितिका लक्ष्मीनारायण दुवालले पनि आफ्ना विचारहरू व्यक्त गर्नुभएको थियो। वक्ताहरूले शिक्षकहरूको योगदान, अनुभव र भावी कार्यदिशाबारे चर्चा गर्नुभएको थियो।

उक्त समारोहमा संयुक्त परीक्षा समिति मातहतका १७ वटा विद्यालयका १४ जना सेवा निवृत्त शिक्षकहरूलाई भव्य सम्मान गरिएको थियो। उहाँहरूलाई दोसल्ला ओढाएर र प्रशंसा पत्र प्रदान गरी उहाँहरूको लामो र समर्पित सेवाको कदर गरिएको थियो। यसैगरी, उत्कृष्ट डायरी प्रयोग गरेबापत ६५ जना शिक्षक/शिक्षिकाहरूलाई पनि प्रशंसा पत्र वितरण गरिएको थियो।

संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुईतुईको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई बासु माविका शिक्षक रामहरि ताम्राकारले कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा १७ वटा विद्यालयका करिब ४७५ जना शिक्षक तथा कर्मचारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

FB IMG 1744456110866

यो कार्यक्रम शिक्षकहरूको सम्मान र शिक्षा क्षेत्रका समसामयिक विषयहरूमा छलफल गर्ने एक महत्वपूर्ण अवसर बनेको थियो। कार्यक्रमले शिक्षकहरूलाई थप उत्प्रेरित गर्ने र शिक्षाको गुणस्तर अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

FB IMG 1744456116688

Messenger creation 5F2211DE CF92 41CD BF3A 3FB7C2DE134D