विद्याआर्जन सेकेण्डरी स्कुलको पूर्व विद्यार्थी समाजले बिस्काः जात्रा तथा नयाँ वर्ष २०८२ को पावन अवसरमा शुभकामना कार्यक्रमको आयोजना गर्यो। विद्यालयको सभाहलमा आयोजित उक्त कार्यक्रमले भूतपूर्व विद्यार्थीहरूलाई एकै ठाउँमा भेटी आफ्ना अनुभव र खुसी साटासाट गर्ने अवसर प्रदान गर्यो।
विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले पूर्व विद्यार्थीहरूको यो भेटघाटले विद्यालयमा नयाँ ऊर्जा थपिएको बताउनुभयो। उहाँले पढाइ सकेर विभिन्न पेशामा संलग्न भएका पूर्व विद्यार्थीहरूले आर्जन गरेको ज्ञान र अनुभव आदानप्रदानले आगामी जीवनमा सफलता हासिल गर्न र सांस्कृतिक स्तर वृद्धि गर्न महत्वपूर्ण टेवा पुग्ने विचार व्यक्त गर्नुभयो।
विद्यालयको पहिलो एसएलसी ब्याच २०६० का पूर्व विद्यार्थी सुरेन्द्र त्यातले विद्यालयको शिक्षा आफ्नो जीवनमा अविस्मरणीय रहने बताए। हाल विभिन्न कलेजहरूमा अध्यापन गराइरहेको अनुभव सुनाउँदै उहाँले यस्ता भेटघाट कार्यक्रमले साथीहरूमा आत्मीयताको भावना जागृत हुनुका साथै केही नयाँ गर्ने प्रेरणा मिल्ने विचार व्यक्त गर्नुभयो।
पूर्व विद्यार्थी समाजका अध्यक्ष सरजु फसिकवाले मेडिकल क्षेत्रमा विद्यावारिधि हासिल गरी स्वास्थ्य सेवामा समर्पित पूर्व विद्यार्थीहरू तथा शिक्षा क्षेत्रमा विद्यावारिधि गरी देश विदेशका विभिन्न विश्वविद्यालय एवं क्षेत्रमा कार्यरत व्यक्तित्वहरूको जानकारी गराउनुभयो। उहाँले आफू पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रूपमा कार्यरत रहेको जानकारी दिनुभयो।
कार्यक्रममा पूर्व विद्यार्थीहरू रबिन ध्वजु, सिलन सुवाल, नितिस माक, ट्यूज्डे छुस्याकी र गीता सुवालले आफ्ना अनुभवहरू साझा गर्दै यस्तो अवसर प्रदान गरेकोमा विद्यालयलाई धन्यवाद ज्ञापन गरे। उनीहरूले बिस्काः जात्रा र नयाँ वर्ष २०८२ को शुभकामना पनि व्यक्त गरे।
विद्यालयका संस्थापक रथ्न प्रसाद कवाले उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो भने समाजका अध्यक्ष सरजु फसिकवाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। शिक्षक रन्जन फाजुले कार्यक्रमको कुशलतापूर्वक सञ्चालन गर्नुभएको थियो।
यस कार्यक्रमले विद्याआर्जन सेकेण्डरी स्कुल र यसका पूर्व विद्यार्थीहरू बीचको बलियो सम्बन्धलाई थप प्रगाढ बनाएको छ। भूतपूर्व विद्यार्थीहरूले देखाएको सक्रिय सहभागिताले विद्यालय परिवार उत्साहित भएको छ।
