नेपाल शिक्षक महासंघले आगामी वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुनै पनि भूमिकामा सहभागी नहुन देशभरका शिक्षक तथा कर्मचारीलाई कडा अपिल गरेको छ।
महासंघले आज जारी गरेको विज्ञप्तिमा शिक्षा क्षेत्रको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि आफूहरूले थालेको आन्दोलनमा साथ दिन आग्रह गर्दै परीक्षासँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न नहुन आह्वान गरेको हो।
विज्ञप्तिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना, तालिम, गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता शैक्षिक गतिविधिमा समेत सहभागी नहुन शिक्षक तथा कर्मचारीलाई आग्रह गरिएको छ।
आफ्नो आन्दोलनलाई थप प्रभावकारी बनाउन महासंघले विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति र स्थानीय तहलाई समेत सहयोग गर्न अनुरोध गरेको छ।
नेपाल शिक्षक महासंघ २०८१ चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलनमा उत्रिएको छ। महासंघले आफ्ना मागहरूको सुनुवाइ नभएको भन्दै चैत २५ गतेदेखि देशभरका विद्यालयमा अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ र सबै शिक्षक कर्मचारीलाई काठमाडौंको आन्दोलनमा अनिवार्य सहभागी हुन आह्वान गरेको छ।
यस अपिलले कक्षा १२ को परीक्षा र समग्र शिक्षा क्षेत्रमा कस्तो प्रभाव पार्छ, त्यो भने हेर्न बाँकी छ।
