नेपाली ललितकलाको गौरवमय प्रस्तुति र संस्कृतिको जीवन्त प्रदर्शनको उद्देश्यसहित ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ बैशाख ३ गतेबाट सुरु भएको छ। नववर्ष २०८२ र प्रतिष्ठानको १६ औँ स्थापना दिवसको अवसर पारेर मंगलबारदेखि सुरु भएको यो कलात्मक जमघटले राजधानीमा उत्साहको सञ्चार गरेको छ।
प्रतिष्ठानका संरक्षक तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले एक विशेष समारोहका बीच मेलाको उद्घाटन गर्दै कलाले समाजको गहिरो अन्तर्चेतनालाई उजागर गरी सही मार्गमा डोऱ्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले कला क्षेत्रका परम्परागत ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिँदै यही नै भविष्यको लागि इतिहास बन्ने विचार व्यक्त गरे।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले पहिलो पटक आयोजना गरिएको यस मेलामा कलाप्रेमी, कलाकार, विद्यार्थी र सर्वसाधारणको उत्साहजनक उपस्थिति देखेर प्रतिष्ठान थप उत्साहित भएको बताए। नेपाली कला क्षेत्रलाई अझ गतिशील बनाउने उद्देश्यले आयोजना गरिएको यो मेलालाई आगामी वर्षहरूमा अझ व्यापक र भव्य रूपमा आयोजना गरिने जानकारी उनले गराए।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कार्यक्रमको सफलताको कामना गर्दै साना प्रयासबाटै ठूला कामको थालनी हुने विचार व्यक्त गरे।
कार्यक्रम संयोजक तथा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाली ललितकलाका विविध विधालाई समेटेर मेला आयोजना गरिएको जानकारी दिए। यस मेलाले प्रतिष्ठानलाई कलाको केन्द्रको रूपमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याउने विश्वास उनले व्यक्त गरे।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले ललितकलाका माध्यमबाट नेपाली मौलिक संस्कृतिको प्रचारप्रसार, बजार प्रवर्द्धन, र कला पर्यटनको विकासमा मेलाले सहयोग पु¥याउने बबताए चित्रकला, मूर्तिकला, हस्तकला, लोककला, बहुआयामिक कलालगायत विभिन्न सिर्जनात्मक कला र कला सामग्रीको बजार विकास र प्रवर्द्धनका लागि यो मेला महत्वपूर्ण हुने उनको भनाइ थियो।
यस मेलाले कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी, अनुसन्धानदाता र कलाकृतिलाई एकै ठाउँमा भेला गराई ललितकलाको प्रवर्द्धन, कलाकारको सम्मान र देशको सांस्कृतिक अर्थतन्त्रमा योगदान पु¥याउने लक्ष्य राखेको छ।
समग्रमा ‘ललितकला मेला– २०८२’ नेपाली ललितकलाको विकासमा एक महत्वपूर्ण पाइला साबित हुने विश्वास गरिएको छ। ४५ भन्दा बढी स्टल रहेको यो कलात्मक मेला बैशाख ६ गतेसम्म जारी रहनेछ। कला र संस्कृतिप्रेमी सबैलाई यस भव्य मेलामा सहभागी भई नेपाली कलाको अनुपम सुन्दरताको अनुभव लिन हार्दिक निमन्त्रणा गरिएको छ।
