भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५, पकुनेपाटीस्थित साईनिङ्ग ईङ्गलिस सेकेन्डरी स्कुल (साईनिङ्ग रोड) मा मिति २०८२ बैशाख १३ गते शनिवार एक विशेष तालिम तथा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षक तुलसी हरि प्रजापतिले विद्यालयका शिक्षकहरूलाई “वार्षिक केन्द्रित गतिविधिहरू” सम्बन्धि गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो।
उक्त कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष बिक्रम ढुकुछुले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र आगामी वर्षमा विद्यालयलाई उत्कृष्ट बनाउने लक्ष्यका साथ शिक्षकहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने कुरामा जोड दिनुभयो। उहाँले विद्यालयले प्रोग्रेसिभ एजुकेसनलाई प्राथमिकता दिँदै अगाडि बढ्ने दृष्टिकोण पनि प्रस्तुत गर्नुभयो।
त्यसैगरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य बहादुर फाेजुले विद्यार्थीहरूको मनोभावनालाई बुझेर पठनपाठनलाई अगाडि बढाउनुपर्ने महत्त्वपूर्ण विषयमा आफ्नो मन्तव्य राख्नुभयो। उहाँको भनाइले विद्यार्थी केन्द्रित शिक्षाको महत्त्वलाई उजागर गरेको थियो।
कार्यक्रममा भाइस प्रिन्सिपल सुरज श्रेष्ठले समयको माग अनुसार शिक्षकहरू पनि परिवर्तन हुन सक्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले परिवर्तनलाई आत्मसात गर्दै शिक्षण विधिमा सुधार ल्याउनुपर्ने कुरामा जोड दिनुभयो। श्रेष्ठले कार्यक्रमलाई कुशलतापूर्वक सञ्चालन पनि गर्नुभएको थियो।
अन्तमा, विद्यालय व्यवस्थापनले प्रशिक्षक तुलसी हरि प्रजापति, सम्पूर्ण इन्चार्ज, शिक्षक शिक्षिकाहरू र कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। यो तालिम विद्यालयको शैक्षिक गुणस्तर सुधार र शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण साबित हुने विश्वास विद्यालयले लिएको छ।
