मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले भव्य समारोहका बीच आफ्नो १७औं स्थापना दिवस मनाएको छ।
कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य मन्त्री प्रदिप पौडेलले अस्पतालको उल्लेखनीय प्रगतिलाई मुक्तकण्ठले प्रशंसा गरे । मन्त्री पौडेलले शहरी क्षेत्रमा नयाँ विशिष्ट अस्पताल बनाउनुभन्दा भएका अस्पतालहरूको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै, नेपाल कोरिया मैत्री अस्पतालले CTscan र डायलाइसिस जस्ता अत्याधुनिक सेवा उपलब्ध गराएर उदाहरणीय काम गरेको बताए।
स्थापना दिवसकै अवसरमा स्वास्थ्य मन्त्री पौडेल र नगरप्रमुख सुरेन्द्र श्रेष्ठले संयुक्त रूपमा अस्पतालको नयाँ ब्लड बैंकको शुभारम्भ गरे। नगरप्रमुख श्रेष्ठले एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा आउने ब्लड बैंकले नगरवासी र आसपासका क्षेत्रका नागरिकलाई आपतकालीन रक्त सेवामा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे।
अस्पतालका मेडिकल डाइरेक्टर डा. डिके रोशनले अस्पतालले चालु आर्थिक वर्षको नौ महिनामा गरेको सेवा प्रवाहको विस्तृत तथ्यांक प्रस्तुत गरे। सो अवधिमा अस्पतालले १ लाख ५० हजारभन्दा बढी बिरामीलाई OPD सेवा, ३ हजार १ सय १८ जनालाई IPD सेवा, ७० हजार प्रयोगशाला परीक्षण, १५ सय ५१ CT स्क्यान लगायतका महत्त्वपूर्ण सेवा प्रदान गरेको जानकारी गराए। आर्थिक पाटोलाई हेर्दा अस्पतालले ३९ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको र ३३ करोड ७७ लाख रुपैयाँ खर्च गरेको उनले बताए।
नगरप्रमुख सुरेन्द्र श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउँदै अस्पतालको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र) का युवा नेता दिलीप कुमार प्रजापतिले अस्पतालको गुणस्तरीय सेवाको प्रशंसा गर्दै छिमेकी जिल्लाका नागरिकले समेत यहाँबाट लाभ लिइरहेको उल्लेख गरे। नेपाली कांग्रेसका नगर सभापति हरिदास प्रजापतिले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रममा अस्पतालको आर्थिक अवस्था सुधार भएको र तलब भुक्तानी सहज भएको जानकारी डा. रोशनले गराए। कोरिया सरकारको १ अर्बभन्दा बढीको सहयोगमा अस्पतालको नयाँ सुविधासम्पन्न भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको पनि जानकारी दिइयो।
स्वास्थ्य मन्त्रीको प्रशंसा र स्थानीय सरकारको सक्रियताले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न सक्षम हुने विश्वास लिइएको छ। कार्यक्रममा रक्तदान कार्यक्रमको समेत आयोजना गरिएको थियो।