विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता तीव्र भएको छ। मन्त्रालयले शिक्षक महासङ्घसँग अनौपचारिक छलफल गरिरहेको छ र तत्काल पूरा गर्न सकिने मागहरूमा सहमति जुटाउने प्रयास गरिरहेको छ।
मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले शिक्षक आन्दोलन नलम्बिने गरी छलफल भइरहेको बताए । सापकोटाले भने, “यो यो विषयमा सहमति भयो भनेर सार्वजनिक गरिहाल्ने गरी परिपक्व भएको त छैन तर आन्दोलन टुङ्ग्याउने गरी कुराकानी भइरहेको छ ।”
यसैबीच, आइतबार बानेश्वर र बबरमहल क्षेत्रमा प्रदर्शनमा उत्रेका शिक्षक र प्रहरीबीच झडप भएको छ। प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको जनाएको छ भने शिक्षकले निषेधित घेरा नतोडेको दाबी गरेका छन्। झडपमा दुई दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्।
आन्दोलनको समाचार सङ्कलन गरिरहेकी सञ्चारकर्मी सबिना कार्की पनि घाइते भएकी छन्। प्रहरीले छोडेको पानीको फोहराले उनको दुवै आँखामा गम्भीर चोट लागेको छ र तिलगङ्गा आँखा अस्पतालमा उपचार भइरहेको छ। नेपाल पत्रकार महासङ्घले विज्ञप्ति जारी गरी कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ।