नेपाल शिक्षक महासंघले आफूलाई धोका दिएर सरकारसँग एकलौटी सम्झौता गरेको आरोप लगाउँदै विद्यालय कर्मचारी परिषद्ले देशव्यापी आन्दोलनको घोषणा गरेको छ। शिक्षक आन्दोलनमा लामो समयदेखि सहकार्य गर्दै आएको परिषद्ले शुक्रबार पत्रकार सम्मेलनमार्फत आफ्ना आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
परिषद्का अध्यक्ष गंगाराम तिवारीले आक्रोशित हुँदै भने, “नेपाल शिक्षक महासंघले रहस्यमय ढंगले सरकारसँग सम्झौता गरेर विद्यालयका कर्मचारी, राहत शिक्षक र बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई अलपत्र पारेको छ। यो हामीलाई मान्य छैन।” उनले अबको आन्दोलन शिक्षक महासंघको विरुद्धमा केन्द्रित हुने चेतावनी दिए।
परिषद्ले घोषणा गरेको आन्दोलनका कार्यक्रम वैशाख २१ गतेदेखि सुरु हुनेछ। जसअनुसार कक्षा १२ को परीक्षामा कार्यरत कर्मचारीहरूले कालोपट्टी बाँधेर काम गर्नेछन्। आन्दोलनका अन्य कार्यक्रमहरूमा वैशाख २१ देखि जेठ ३ गतेसम्म कार्यक्षेत्रमा कालोपट्टी बाँध्ने, जेठ ४ गते देशभरका ७५३ वटै स्थानीय तहको ध्यानाकर्षण गराउने, जेठ ५ गते जिल्लास्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने र जेठ ९ र १० गते काठमाडौंको माइतीघर मण्डलामा बृहत् विरोध प्रदर्शन गर्ने लगायत रहेका छन्। आन्दोलन परिचालन समितिको संयोजकमा बब्बन मिश्रालाई तोकिएको छ।
परिषदले अबको आन्दोलनको मुख्य माग शिक्षक र कर्मचारीबीच विद्यमान विभेदलाई अन्त्य गराउनुपर्ने रहेको स्पष्ट पारेको छ। झन्डै एक महिना लामो शिक्षक आन्दोलन बुधबार राति सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएपछि स्थगित भएको थियो। तर, विद्यालय कर्मचारी परिषद्को यो नयाँ आन्दोलनको घोषणाले शिक्षा क्षेत्रमा फेरि एकपटक तरंग सिर्जना गरेको छ।
