शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयहरूलाई हिउँदे वा वर्षे बिदाको अवधिमा पनि पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छ। गत चैत महिनामा शिक्षक तथा कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन गरेका कारण विद्यार्थी भर्ना र पठनपाठनमा अवरोध पुगेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा महासङ्घको प्रतिबद्धतासमेतका आधारमा आवश्यक व्यवस्था मिलाउन सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरिएको छ। आन्दोलनका कारण विद्यालयमा शिक्षक तथा कर्मचारीको अनुपस्थितिलगायतका समस्या समाधान गर्दै शिक्षकको मनोबल उच्च राख्न र विद्यालयको प्रशासकीय प्रबन्ध मिलाउन यो आग्रह गरिएको मन्त्रालयले जनाएको छ।
हाल शिक्षक र कर्मचारीहरू विद्यालय फर्किएर आ–आफ्नो पेसागत दैनिकी सञ्चालन गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्यसम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउनुपर्नेमा मन्त्रालयले जोड दिएको छ। यसका लागि शिक्षकको अठोटलाई प्रवर्द्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवालाहरूलाई मन्त्रालयले विशेष अनुरोध गरेको छ।