ताजा अपडेट

ट्रेन्डिङ

बासु माविमा नव आगन्तुक विद्यार्थीको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण सम्पन्न

Gyan Khabar

ज्ञानखबर

शुक्र, जेष्ठ ९, २०८२
2085 पटक हेरिएको
बासु माविमा नव आगन्तुक विद्यार्थीको स्वागत, छात्रवृत्ति तथा पुरस्कार वितरण सम्पन्न

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीज्यूको प्रमुख आतिथ्यतामा आज बासु माध्यमिक विद्यालयमा एक भव्य समारोहका बीच नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ। साथै, विद्यालयले शैक्षिक वर्ष २०८१ का उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा पुरस्कार वितरण पनि गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख जोशीले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले भने, “भक्तपुर नगरपालिका जनताको प्रत्यक्ष सरोकार राख्ने यी दुई क्षेत्रको विकासका लागि सधैँ तत्पर छ।”

FB IMG 1748003794352

विशेष अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले विद्यालयको प्रगति शिक्षक, कर्मचारी र व्यवस्थापनको संयुक्त प्रयास र कडा परिश्रमबाट मात्र सम्भव हुने विचार व्यक्त गरे।

कार्यक्रमका सभापति तथा बासु माविका प्रधानाध्यापक रविलाल प्रधानले नयाँ व्यवस्थापनसँगै विद्यालय नयाँ सोच र कार्यक्रमहरू लिएर अगाडि बढेको जानकारी दिए। उनले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयको शैक्षिक वातावरणबारे प्रकाश पारे।

FB IMG 1748003777177

उप-प्रधानाध्यापक राजकुमार ह्याैंमिखाले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा तहगत इन्चार्जहरु पुनेन्द्रप्रसाद कुसी, रामकुमार निराैला, रामहरि ताम्राकार, बिष्णुप्रसाद दुमरु र विद्यालय हित समिति अध्यक्ष रिजा सुलुले पनि आफ्ना भनाइहरु राखेका थिए। कार्यक्रमको सञ्चालन शिक्षक रामहरि ताम्राकारले गरेका थिए।

FB IMG 1748003923325

आजको कार्यक्रमको मुख्य आकर्षण भनेको प्रमुख अतिथिबाट स्कुल क्याप्टेन र हाउस क्याप्टेनहरुलाई ब्याज वितरण तथा शैक्षिक वर्ष २०८१ का कक्षागत प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण थियो। विशेष अतिथि हरिप्रसाद बासुकलाले विद्यालयमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई मायाको चिनो तथा प्रधानाध्यापक रविलाल प्रधानले उनीहरुलाई टीका लगाई स्वागत गरेका थिए।

औपचारिक कार्यक्रम सम्पन्न भएपछि विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुतिहरु मार्फत आफ्नो प्रतिभा प्रदर्शन गरे। नृत्य, गीत तथा कविता वाचनले कार्यक्रमलाई थप रौनकता प्रदान गरेको थियो। विद्यार्थीहरुको उत्कृष्ट प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।