मध्यपुर ठिमीस्थित विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले असार ९ गते एक विशेष कार्यक्रम आयोजना गरेको छ। भौतिकवादी संसारमा हराइरहेको आजको समाजमा आध्यात्मिक चेतना जगाउने र महामानव गौतम बुद्धका उपदेशहरू विद्यार्थीहरूमाझ पुर्याउने उद्देश्यले विद्यालयले बौद्ध भिक्षुहरूद्वारा पञ्चशील ज्ञान प्रदान कार्यक्रम सम्पन्न गरेको हो।
विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाका अनुसार, भक्तपुरको मुनिबिहारबाट करिब ४१ जना बौद्ध भिक्षुहरूले यस कार्यक्रममा सहभागिता जनाएका थिए। उनीहरूले विद्यार्थीहरूलाई बुद्ध वाणीका साथै जीवनोपयोगी मूल्यमान्यताहरूको बारेमा जानकारी गराए। बौद्ध गुरुहरूले बुद्ध धर्म र आजको विश्व विषयमाथि प्रकाश पार्दै विश्व शान्तिका लागि सानै उमेरदेखि लाग्नुपर्ने कुरामा जोड दिए।
विद्यार्थीहरूले भिक्षुहरूलाई भव्य रूपमा स्वागत गरेका थिए। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले बुद्धले देखाएको बाटो पछ्याउन सके जीवन सफलताको मार्गमा पुग्न सकिने बताउँदै सम्पूर्ण विद्यार्थीहरूलाई बुद्धबाट ज्ञान लिन र जीवन शिक्षालाई आत्मसात् गरी अगाडि बढ्न प्रेरित गरे।
विद्यालयका शैक्षिक संयोजक शैलेन्द्रकुमार भट्टराईको विशेष निमन्त्रणामा भिक्षुहरूको उपस्थिति रहेको यस कार्यक्रममा विद्यार्थी, शिक्षक-शिक्षिका र विद्यालय परिवारले भिक्षुहरूलाई सहयोगस्वरूप यथाशक्य दान पनि गरेका थिए। यस प्रकारका कार्यक्रमले विद्यार्थीहरूमा नैतिक र आध्यात्मिक चेतनाको विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ।