भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ मंसिर २५ गतेदेखि पुस १ गतेसम्म सञ्चालित भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत भएको टेबुलटेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल बुधबार सम्पन्न भई विजेता खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रम भएको छ ।
समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले खेलकुदले नागरिकको व्यक्तित्व र सामाजिक विकासमा टेवा पुर्याउने चर्चा गर्नुभयो। भलिबल नेपालको राष्ट्रिय खेल भएको स्मरण गराउँदै उहाँले अन्तर्राष्ट्रिय स्तरको कभर्ड हल निर्माणका लागि संसदमा आफूले पहल गरिरहेको बताउनुभयो। उहाँले नयाँ पुस्तालाई देशको राजनीति बुझ्न र समूहगत कार्य (टिम वर्क) मा जोड दिन आग्रह गर्दै युवा विद्यार्थी नै देश विकासका वास्तविक कर्णधार भएको उल्लेख गर्नुभयो। साथै, उहाँले शासक दलहरूमा समूहगत कार्यको अभाव रहेको टिप्पणी समेत गर्नुभयो।

कार्यक्रमका सभापति एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरको खेलकुद प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा इँटा थपेको बताउनुभयो। खेलाडीहरूको मागअनुसार विभिन्न स्थानमा कभर्ड हल निर्माण भइरहेको र व्यवस्थित खेलमैदानको प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले सभ्य र सुसंस्कृत समाज निर्माण नै नगरपालिकाको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
त्यस्तै, बाग्मती प्रदेश सभा सदस्य सृजना सैँजूले देशको सार्वभौमिकता रक्षाका लागि युवाहरूलाई सैनिक तालिम आवश्यक रहेको र विद्यालय तहदेखि नै इमानदार नागरिक बन्न खेलकुदले प्रेरित गर्ने बताउनुभयो।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई र युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वस्थ नागरिक तयार गर्न नगरपालिकाले खेलकुदमा विशेष लगानी गरिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा राष्ट्रिय भलिबल खेलका प्रशिक्षक विनोदचरण रायले प्रतियोगिताको उत्कृष्ट खेलाडी गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुवाल र अन्य अतिथिहरुले विभिन्न खेलमा उत्कृष्ट खेलाडीहरू एवं विद्यालयहरूलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै सहभागी विद्यालयहरुलाई खेलकुद सामाग्री वितरण गर्नुभयो ।

