भक्तपुरस्थित बाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रकाशन गरेको ‘सांस्कृतिक बाँसुरी बाजा बोल’ नामक पुस्तकको बुधबार एक समारोहका बीच विमोचन गरिएको छ। संगीतकर्मी रभिम कपालीद्वारा लिखित उक्त पुस्तकले नेपाली परम्परागत संगीतको संरक्षणमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।
कार्यक्रमका मुख्य अतिथि एवं संस्थाका अध्यक्ष राधेश्याम सुवालले पुस्तकको विमोचन गर्दै नेपाली लोक तथा शास्त्रीय सङ्गीतमा बाँसुरीको विशिष्ट र अपरिहार्य स्थान रहेको चर्चा गर्नुभयो। नयाँ पुस्तामा बाँसुरी वादनप्रति आकर्षण बढिरहेको वर्तमान अवस्थामा यो पुस्तक उनीहरूका लागि भरपर्दो सिकाइको स्रोत र मार्गदर्शक बन्ने उहाँले बताउनुभयो।
सो अवसरमा लेखक रभिम कपालीले आफूले दशकौँदेखि सङ्गीत क्षेत्रमा सँगालेको अनुभव र लामो समयको खोज–अनुसन्धानलाई पुस्तकमा लिपिबद्ध गरेको जानकारी दिनुभयो। बाँसुरी सिक्न चाहने जोकोहीले पनि सरल ढंगबाट सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गर्न सकून् भन्ने उद्देश्यले यो कृति तयार पारिएको उहाँको भनाइ थियो।संस्थाको सांस्कृतिक तथा खेलकुद उपसमितिका संयोजक सृजन ग्वाछाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाका व्यवस्थापक शिवजी हाकुदुवाल, अमित खोंजु तथा राजमती सुवाल लगायतले आ–आफ्नो मन्तव्य राख्दै सहकारीले वित्तीय कारोबारका अलावा कला, संस्कृति र साहित्यको उत्थानमा पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो।