ताजा अपडेट

ट्रेन्डिङ

विद्यार्थीमा नागरिक भावना र देशभक्ति जगाउनुपर्नेमा जोड

Gyan Khabar

ज्ञानखबर

बुध, पुस १६, २०८२
280 पटक हेरिएको
विद्यार्थीमा नागरिक भावना र देशभक्ति जगाउनुपर्नेमा जोड

वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले शैक्षिक संस्थाहरुले विद्यार्थीमा व्यापक रूपमा नागरिक भावना र देशभक्ति जगाउनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

अध्यक्ष बिजुक्छेंले साम्राज्यवादी स्वार्थ पूरा गर्न शिक्षा क्षेत्रलाई निसाना बनाइने गरेको भन्दै पाठ्यक्रम बाहेक नागरिक शिक्षा दिनु जरुरी रहेको स्पष्ट पार्नुभयो । देश आर्थिक रूपमा स्वतन्त्र नभएसम्म पूर्ण स्वतन्त्र हुन नसक्ने बताउँदै उहाँले सरकारले अनिवार्य र निःशुल्क शिक्षा नीति नलिनुको परिणामस्वरुप विद्यार्थीहरू सस्तो कामदारका रूपमा विदेश पलायन हुन बाध्य भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउन हरतरिकाले प्रयास भइरहेको बताउनुभयो । उहाँले त्रिविको ढिलासुस्ती र लापरवाहीका कारण विद्यार्थीमा निराशा बढेको भन्दै ‘ख्वप विश्वविद्यालय’ को आवश्यकता पुनः पुष्टि भएको उल्लेख गर्नुभयो ।

बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले ठूला दलहरूले नवउदारवादका नाममा शिक्षा र राजनीतिलाई ध्वस्त पारेको आरोप लगाउनुभयो । उहाँले पछिल्ला राजनीतिक समीकरण र आन्दोलनहरूमा वैदेशिक रणनीतिको प्रभाव रहेको दाबी गर्नुभयो ।

FB IMG 1767100210266

त्यस्तै, सांसद सृजना सैंजूले पश्चिमा सामाजिक सञ्जालले युवा पुस्तालाई दिग्भ्रमित पारेको चर्चा गर्दै विद्यालयले वास्तविक र व्यवहारिक ज्ञान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वागीश्वरी मावि व्यवस्थापन समितिका अध्यक्ष रविन्द्र ज्याख्व र कलेजका संयोजक ज्ञानसागर प्रजापतिले विद्यालयको शैक्षिक गुणस्तर र पूर्वाधार विकासबारे जानकारी दिनुभएको थियो ।

वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम मानविकी संकाय प्रमुख राजन फेलुुले गर्नुभएको थियो ।